काठमाडौं-नेकपा माओवादी केन्द्रका तर्फबाट सिरहा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सुरेशचन्द्र दासको नाम भारतीय मतदाता सूचीमा रहेको खुलेको छ । भारत, बिहार राज्यको दरभंगा जिल्लास्थित दरभंगा नगरपालिकाअन्तर्गत दासको नाम रेहेको छ । नाम अहिले पनि भारतीय निर्वाचन आयोगको आधिकारिक वेबसाइट डब्लुडब्लुडब्लु डट इसिआई डट एनआइसी डट आइएन मा भेटिन्छ।


ADVERTISEMENT


दासको भारतीय भोटर आइडीमा पिताको नाम देवनाथ दास उल्लेख छ। उनको फोटोसहितको मतदाता परिचयपत्र नम्बर (भोटर आइडी) ‘आइएजी ०३७३१८३’ छ । उनको मतदाता क्रमांक १७५ छ । उनको मतदान केन्द्रको नाम ‘मैथिली साहित्य परिषद्, मिश्रटोल, साउथ पार्ट’ उल्लेख छ ।


ADVERTISEMENT

# # #


‘लालबाग प्रोफेसर कोलोनी मिर्जापुर, नगर निगम दरभंगा, दरभंगा जिल्ला–८४६००४,’ मतदाता परिचयपत्रमा दासको ठेगाना उल्लेख गरिएको खुलासा भएको छ ।

भारतीय मतदाता हुनका लागि अनिवार्य रूपमा भारतीय नागरिक भई नागरिकता प्रमाणपत्र लिन जरुरी हुन्छ । जनवरी १ मा १८ वर्ष उमेर पुगेको वा सोभन्दा बढी वर्ष पार गरेका भारतीय नागरिक मात्र त्यहाँ मदताता हुन योग्य ठहरिने व्यवस्था भारतीय कानुनमा छ ।

दासको मात्र होइन उनकी श्रीमती रेखाको नाम पनि भारतीय मतदाता सूचीमा छ । रेखाको मतदाता परिचयपत्र ‘सिएफबी ५१९४२८७’ छ । उनको मतदाता क्रमांक १०१ छ । माओवादीबाट सांसद बनेका दासको नेपालमा पनि सिरहा निर्वाचन क्षेत्र नं २ मा नाम छ ।

उनको नेपाली मतदाता परिचत्रपत्र नम्बर १४५७६९८८ हो । निर्वाचन आयोगले प्रदान गरेको फोटोसहितको मतदाता परिचयपत्रमा उनका पिताको नाम देवनाथ दास उल्लेख छ । सिरहाको न. आधारभूत विद्यालय, औरही उनको मतदानस्थल हो ।-आजको नागरिक दैनिकबाट