काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)को टोलीले पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरो खटिएका एक जना प्रहरी उपरीक्षक (एसपी) नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
रविलाई पक्राउ गर्न सीआईबीका एसबी हविन्द्र बोगटी ठूलो दलबलसहित रास्वपा कार्यालय पुगेका थिए । कार्यालय परिसरमा रास्वपा कार्यकर्ताको बाक्लो उपस्थिति भए पनि उनीहरुले कुनै अवरोध गरेनन् ।
रास्वपा नेताहरुले प्रहरीलाई असहयोग नगर्न आग्रह गरेका छन् । लामिछानेलाई स्थलमार्गबाट आजै कास्की लगिदैँछ । रास्वपाका केही नेता कार्यकर्ताहरु प्रहरीको गाडी सँगसँगै कास्की जाने तयारीमा छन् ।




























































