चितवन – चितवनको राप्ती नगरपालिका–१ डिपार्ट बस्तीमा पसेको बाघले आक्रमण गर्दा एक जना व्यक्ति र एउटा जर्सी गाई घाइते भएका छन्। बिहीबार बिहान चितवन राष्ट्रिय निकुञ्जबाट बस्तीमा प्रवेश गरेको बाघले ६० वर्षीय ठाकुर अधिकारीलाई आक्रमण गर्दा उनी सामान्य घाइते भएका हुन्।


ADVERTISEMENT


घाइते अधिकारीको भरतपुर सरकारी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। बाघले स्थानीय दिलाकुमारी तामाङको गोठमा रहेको जर्सी गाईलाई समेत आक्रमण गरी घाइते बनाएको थियो।


ADVERTISEMENT

# # #


बस्तीमा बाघ पसेपछि नियन्त्रणका लागि चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी तथा प्राविधिकसहितको टोली हात्ती परिचालन गरेर घटनास्थल पुगेको थियो। करिब साढे ११ बजे टोलीले बाघलाई सफलतापूर्वक नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएको बाघलाई चितवन राष्ट्रिय निकुञ्जको जिम्मा लगाइएको छ। पछिल्लो समय चितवनका मध्यवर्ती तथा बस्ती आसपासका क्षेत्रमा बाघ देखिने क्रम बढेसँगै मानव–वन्यजन्तु द्वन्द्वका घटना पनि बढ्न थालेकाले स्थानीयवासीले सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउन माग गरेका छन्।