काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पशुपति धर्मशाला विवाद छिट्टै समाधान हुने बताएका छन् ।
मन्त्रालय सम्हालेको सय दिनमा भएका कामकारवाहीका बारेमा जानकारी दिन बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री पाण्डेले कानूनी र शान्तिपूर्ण समाधान खोज्ने गरी अध्ययन समिति गठन गरेको र त्यस्तका प्रतिवेदनका आधारमा पशुपति धर्मशाला विवाद छिटै समाधान हुने बताएका हुन् ।
उनले पशुपति क्षेत्र बिकास कोषले मन्त्रालयलाई नै जानकारी नदिइ धर्मशाला सञ्चालनको व्यवस्थापनको जिम्मा काठमाडौं महानगरलाई दिएको उल्लेख गरे ।
मारवाडी सेवा समिति पुन अदालत गएकाले अदालतको आदेशलाई पनि सम्मान गर्दै अघि बढ्ने स्पष्ट पारे । त्यस्तै उनले नेपाल वायुसेवा निगमलाई बलियो बनाउनका लागि अध्ययन भइरहेको र निगमलाई चुस्त, व्यवस्थित र प्रभावकारी बनाउने जिकिर गरे ।
निगम सञ्चालनका लागि कानूनी वा नीतिगत कमजोरीका साथै प्रशासनिक कमजोरीलाई पनि समाधान गर्ने उनले बताए । उनले आफ्नो सय दिनको कार्यकालमा नेपालको नागरिक उड्ययन क्षेत्रलाई सुरक्षित र विश्वसनीय बनाउन काम सुरु गरेको जानकारी दिए ।
हवाई क्षेत्र सुधारका लागि उच्चस्तरीय सुझाव समिति गठन भएको, गौतमबुद्ध बिमानस्थल र पोखरा बिमानस्थलबाट नियमित रुपमा अन्तराष्ट्रिय उडान गराउन आवश्यक सहुलियतको व्यवस्था गरिएको उनको भनाइ छ ।
त्यस्तै पर्यटन, संस्कृति तथा नागरिक उड्ययन क्षेत्रको समग्र सुधारका लागि आवश्यक कानूनी व्यवस्थाप्रति मन्त्रालयको बिशेष ध्यान केन्द्रीत भएको मन्त्री पाण्डेले बताए ।


























































