काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले बाढीका कारण सुरुङभित्र फसेका व्यक्तिको खोज तथा उद्धारका लागि नेपालले मित्रराष्ट्रहरूसँग विशेष प्राविधिक सहयोग मागेको बताएका छन्।
शनिबार परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले उद्धार अभियानलाई प्रभावकारी बनाउन विदेशी सहयोग जुटाउन पहल भइरहेको जानकारी दिए।
उनका अनुसार सुरुङभित्र फसेकाहरूको खोजी तथा सम्भावित जीवित व्यक्तिको पहिचानका लागि आवश्यक अत्याधुनिक प्रविधि र विशेषज्ञ जनशक्तिको सहयोग मागिएको छ।
यस्तै, बाढीमा ज्यान गुमाएकाहरूको पहिचानका लागि द्रुत डीएनए परीक्षण, शवको पहिचान तथा दीर्घकालीन व्यवस्थापनमा समेत मित्रराष्ट्रहरूको सहयोग आवश्यक रहेको मन्त्री खनालले बताए।
उनले विपद्को जटिल अवस्थालाई मध्यनजर गर्दै उपलब्ध सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोत र प्रविधिको अधिकतम उपयोग गरेर खोज तथा उद्धार अभियान अघि बढाइरहेको जानकारी दिए।































































