एजेन्सी – डोनाल्ड ट्रम्पले अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित हुने निश्चित भएपछि आफ्ना समर्थकलाई सम्बोधन गरेका छन् । ट्रम्पले सम्बोधनका क्रममा आफूलाई विश्वास गरेकोमा धन्यवाद दिँदै अमेरिकाको स्वर्ण युग सुरु भएको दाबी गरे ।
‘अमेरिकाको स्वर्ण युग सुरु भयो । म यसको नेतृत्व गर्दैछु । अब सबै कुरा ठिक गर्नेछु’ उनले भने, ‘मलाई लाग्छ यो इतिहासकै सबैभन्दा ठूलो राजनीतिक आन्दोलन हो । यो देशमा यस्तो कहिल्यै भएको थिएन । अब यसको महत्व नयाँ उचाईंमा पुग्न गइरहेको छ । किनभने हामी हाम्रो देशलाई ठिक पार्न मदत गर्नेछौँ ।’
उनले आफ्नो कार्यकार्यमा अमेरिकाका अन्तर्राष्ट्रिय सिमानाहरुको समस्या सम्बोधन गर्ने बताए । ‘हाम्रो देशलाई धेरै नै सहयोग चाहिएको छ । हामी हाम्रो सीमाहरू ठीक गर्न जाँदैछौं।’ बहालवाला उपराष्ट्रपति कमला ह्यारिसलाई हराउने निश्चित भएपछि ट्रम्पले भने, ‘हामी हाम्रो देशको बारेमा सबै कुरा ठीक गर्न जाँदैछौं किनकी हामीले आज एक इतिहास बनाएका छौँ । हामीले ती सबै अवरोधहरु छिचोलेका छौँ, जुन कसैले सोचेको पनि थिएन ।’
उनले आफू प्रत्येक अमेरिकी नागरिक र उनीहरुको परिवारको लागि लड्ने वाचा समेत गरे । ‘जबसम्म हामीले बलियो, सुरक्षित र समृद्ध अमेरिका बनाउनेछैनौँ, तबसम्म मेरो शरीरमा हरेक सासले, मैँले आराम गर्नेछैन। तपाईं र तपाईंका बच्चा यसको हकदार हुनुहुन्छ ।’ उनले भने, ‘यो अवश्य पनि अमेरिकाको स्वर्ण युग हुनेछ । यो अमेरिकी जनताका लागि शानदार जित हो । जसले अमेरिकालाई फेरि एक पटक महान बनाउन हामीलाई अनुमति लिएका छन् ।’
सम्बोधनका क्रममा ट्रम्प पूर्व प्रथम महिला मेलानिया ट्रम्प र छोरा ब्यारोन ट्रम्पलगायत आफ्ना समर्थकहरूबाट घेरिएका थिए । उनले यूएफसी सीईओ डाना ह्वाइट, एक्सका मालिक एलोन मस्क साथै पेशेवर गोल्फर ब्रायसन डेचाम्बेउलाई समेत आभार व्यक्त गरेका थिए ।
सम्बोधनका क्रममा ट्रम्पले पुनः भने, ‘हामी अमेरिकालाई फेरि सुरक्षित, बलियो, समृद्ध, शक्तिशाली र स्वतन्त्र बनाउनेछौं। र म हाम्रो देशका हरेक नागरिकलाई यस महान र धार्मिक प्रयासमा साथ दिन आग्रह गर्छु ।’