काठमाडौं – राष्ट्रियसभाले रसुवा बाढीपछि विपद् व्यवस्थापनसम्बन्धी विशेष प्रस्ताव पारित गरेको छ ।
मंगलबार बसेको बैठकले विनाशकारी बाढीमा ज्यान गुमाउने नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण रशोक–सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै विशेष प्रस्ताव पारित गरेको हो । विशेष प्रस्तावमा बेपत्ता÷सम्पर्कविहीनहरूको तीव्र खोजी तथा प्रभावितहरूको शीघ्र उद्धार, घाइतेहरूको सम्पूर्ण उपचार निःशुल्क गर्ने व्यवस्था, वैज्ञानिक विधिबाट शवहरूको पहिचान तथा व्यवस्थापन र प्रभावित परिवारलाई प्रभावकारी राहत तथा पुनस्र्थापना गर्न ध्यानाकर्षण गराइएको छ ।
त्यस्तै संघ, प्रदेश र स्थानीय सरकारबीच सघन समन्वयका साथै नागरिक समाज, निजी क्षेत्र र अन्तर्राष्ट्रिय समुदायको सहयोग जुटाउन र क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा भविष्यमा विपद् जोखिम न्यूनीकरणका लागि प्रभावकारी पूर्वतयारीका उपाय अवलम्बन गर्न सरकारको ध्यानाकर्षण गराइएको राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले बताए । .
त्यसअघि बैठकमा राष्ट्रियसभा अध्यक्ष दाहालले घाइतेहरूको शीघ्र निःशुल्क उपचारको व्यवस्था गर्न र सम्पर्कविहीन नागरिकहरूको खोजी तथा उद्धारलाई उच्च प्राथमिकतामा राख्न सम्पूर्ण स्रोत, साधन, प्रविधि र जनशक्ति अधिकतम परिचालन गर्न सुझाव दिए । राहत सामग्रीको संकलन, भण्डारण, ढुवानी र वितरणलाई पारदर्शी र व्यवस्थित बनाई वास्तविक पीडितसम्म समयमै पु¥याउनुपर्ने तथा जनगुनासोलाई तत्काल सम्बोधन गर्नुपर्ने उहाले बताए ।
उनले विपद्को प्रकृतिले प्रशासनिक सीमा नमान्ने हुँदा संघ, प्रदेश र स्थानीय तहबीच सूचना आदानप्रदान, स्रोत परिचालन र जिम्मेवारीसहितको प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिए । राष्ट्रियसभाको अर्को बैठक भाद्र २३ गते मंगलबार बस्नेगरि स्थगित भएको छ ।































































