काठमाडौँ– युनाइटेड अरब इमिरेट्स (युएई) मा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटको पाचौँ खेलमा नेपालले कुवेतलाई १६५ रनले हराएको छ ।
मंगलबार युएईको अजमानस्थित द सेभेन स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान पूजा महतोको शानदार ब्याटिङमा २१३ निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१३ रन बनायो । जवाफी ब्याटिङमा उत्रिएको कुवेत १३ ओभरमा सबै विकेट गुमाउँदै ४८ रनमै समेटिएको हो । कुवेतका लागि कप्तान जीफा जिलानीले सर्वाधिक ३६ रन बनाइन् । अन्य ब्याटरले दोहोरो अंक छुन सकेनन् ।
यसअघि नेपाललाई विशाल योगफलतर्फ डोर्याउने क्रममा कप्तान पूजाले शतकीय इनिङ खेलिन् । उनले ६९ बलमा १७ चौका प्रहार गर्दै नटआउट १३० रन ठोकिन् । यस्तै सोनी पाख्रिनले ३३ बलमा ३ चौकाको मदतमा नटआउट ४३ रन प्रहार गरिन् । उनीहरुले तेस्रो विकेटका लागि १५७ रनको साझेदारी गरे । बलिङतर्फ कुवेतकी कप्तान जीफा जिलानी र रइलिन मारिया डी सुजाले समान १–१ विकेट लिए ।
कुवेतलाई सस्तैमा समेट्नेक्रममा नेपालकी कप्तान पूजा महताले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिइन् । उनले ४ ओभरमा १ मेडेन फाल्दै ८ रन मात्रै खर्चिइन् । प्रतियोगिताको अन्तिम खेल नेपालले भोलि युएईसँग खेल्नेछ ।
उक्त खेलमा राम्रो जित हात पार्न सके नेपाल आगामी वर्ष मलेसियामा हुने आईसीसी यू–१९ विश्वकपमा छनोट हुने सम्भावना छ । यस्तै सीमा केसी र रचना कुमारी चौधरीले समान २–२ विकेट लिए ।


























































