काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पदाधिकारीहरुविरुद्व ‘अदालतको अवहेलना’ सम्बन्धी दायर निवेदन उपर सर्वोच्चमा आज सुनुवाइ हुँदैछ ।
उक्त रिटको पेसी हरिप्रसाद फुयाल र बालकृष्ण ढकालको संयुक्त इजलासमा तोकिएको छ ।
रास्वपा सभापति रवि लामिछानेमाथि लामिछाने सहकारीको रकम अपचलन प्रकरणमा कार्तिक २ गते पक्राउ यता रास्वपाका कार्यकर्ता एवम् नेताहरुले रविलाई सहकारी प्रकरणमा प्रतिशोध राखेर पक्राउ गरेको भन्दै सरकारविरुद्व निरन्तर आन्दोलन गर्दै आएका थिए ।
सहकारी रकम अपचलन प्रकरणमा अनुसन्धान भइरहँदा अदालती कारवाहीविरुद्ध आन्दोलन गरेको दाबीसहित सर्वोच्चमा अधिवक्ता अनुपम भट्टराईले सर्वोच्चमा निवेदन बुझाएका थिए ।
निवेदनमा विपक्षी राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय पदाधिकारीसमेतले न्याय निरूपण प्रक्रियामा प्रभाव पर्नेगरी सभा गर्ने, न्यायपालिका बारे तथ्यहीन र आधारहीन कुरा नागरिकमा फैलाउने लगायतका काम गरी स्वतन्त्र न्यायपालिका माथि नागरिकमा भ्रम सिर्जना गर्ने काम गरेको दाबी गरिएको छ ।
अवहेलना निवेदनमा रास्वपाका उपसभापति एवं सांसद डा. स्वर्णिम वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, विराजभक्त श्रेष्ठ, डा। तोसिमा कार्की, सोविता गौतम, सन्तोष परियारलगायतलाई विपक्षी बनाइएको छ ।



























































