काठमाडौँ–प्रधान सेनापति महारथी अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल भ्रमणमा आएका मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र तथा सुनिता द्विवेदी पाँच दिने औपचारिक भ्रमण सम्पन्‍न गरी आज स्वदेश फिर्ता भएका छन् ।


ADVERTISEMENT


उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युद्धकार्य विभागका विभागीय प्रमुख उपरथी प्रेम ध्वज अधिकारी र उनकी धर्मपत्‍नीले बिदाई गर्नु भएको थियो ।


ADVERTISEMENT

# # #


भ्रमणको दौरान जनरल द्विवेदीलाई सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित गरेको थियो ।

जनरल द्विवेदीले आफ्नो भ्रमणको दौरान राष्ट्रपति, प्रधानमन्त्री, रक्षा मन्त्री र प्रधान सेनापतिसँग छुट्टाछुट्टै शिष्टाचार भेट गरेका छन् ।

उनले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेज र पोखरास्थित पश्चिम पृतना हेडक्वाटरको भ्रमण गर्नुका साथै मुस्ताङ्ग स्थित मुक्तिनाथ मन्दिरको दर्शन र माउण्टेन फ्लाईट मार्फत विभिन्न हिमालहरुको अवलोकन समेत गरेका थिए ।

यस भ्रमणले दुई देशबीच रहंदै आएको सौहार्दपूर्ण सैनिक सम्बन्धलाई अझ सुमधुर एवं प्रगाढ पार्न थप मद्दत पुग्ने नेपाली सेनाको विश्वास छ ।