काठमाडौं – गरिमा विकास बैंकको २०औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘गरिमा रोड रेस २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।
‘स्वस्थ जीवनशैलीका लागि खेलकुद’ भन्ने नारासहित शनिबार आयोजित प्रतियोगितामा १ हजार ४ सयभन्दा बढी धावक सहभागी भएका छन्। बैंकको २०औँ वार्षिकोत्सव मंसिर ७ गते पर्ने भए पनि त्यसको अवसर पारेर प्रतियोगिता दुई दिनअघि आयोजना गरिएको हो। बैंकले १८औँ वार्षिकोत्सवदेखि सुरु गरेको रोड रेसको यो तेस्रो संस्करण हो।
प्रतियोगितामा खुलातर्फ १० किलोमिटर र कर्पोरेटतर्फ ५ किलोमिटर गरी महिला र पुरुषका छुट्टाछुट्टै चार विधामा प्रतिस्पर्धा गराइएको थियो। खुलातर्फ पुरुषको १० किलोमिटर दौड ३१ मिनेट ५० सेकेन्डमा पूरा गर्दै तीर्थकुमार पुन प्रथम भए। महिलातर्फ ३९ मिनेट ५४ सेकेन्डमा दूरी पार गर्दै राज्य रावलले उपाधि जितिन्। त्यस्तै, कर्पोरेटतर्फ पुरुषको ५ किलोमिटर दौड १९ मिनेट २८ सेकेन्डमा पूरा गर्दै ईश्वर बुढाथोकी प्रथम हुँदा महिलातर्फ २६ मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै दिव्या विष्ट विजेता बनिन्।
प्रतियोगितामा खुलातर्फ प्रथम हुनेलाई ५० हजार रुपैयाँ र कर्पोरेटतर्फ प्रथम हुनेलाई ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो। दुवै विधामा पहिलोदेखि पाँचौँ स्थानसम्म हासिल गर्ने धावकलाई नगद पुरस्कार, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ।
कार्यक्रममा बैंकका अध्यक्ष दिलिप प्रताप खाँड, सञ्चालक समितिका सदस्य, शेयरधनी, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय निकायका पदाधिकारी तथा पत्रकारहरूको उपस्थिति रहेको थियो। यसैबीच, बैंकले आफ्नो २०औँ वार्षिकोत्सवकै अवसरमा मंसिर ७ गते देशका विभिन्न नौ स्थानमा बृहत् रक्तदान कार्यक्रमसहित सामाजिक उत्तरदायित्वका कार्यक्रम आयोजना गर्ने जनाएको छ।


























