काठमाडौं- नेपाल र भारतका अर्थशास्त्री तथा राजनीतिशास्त्रीहरुले दुई देशबीच आर्थिक गतिविधिलाई बढावा दिन संयुक्त लगानी र आपूर्तिमा सहजतामा जोड दिएका छन् ।
काठमाडौंमा भइरहेको नेपाल–भारत नीति संवादमा आइतबार बोल्नुहुँदै उनीहरुले नेपालको जलविद्युत, जडिबुटी र पर्यटनका क्षेत्रमा भारतबाट अपार लगानीको सम्भावना औल्याए । राजनीतिक विश्लेषक अरुण सुवेदीले प्रधानमन्त्री बालेन साहको भारत भ्रमणमा नेपालबाट भूराजनीतिक अन्यौल सदाका लागि दूर हुने विश्वास व्यक्त गरे । भूराजनीति र बदलिंदो विश्व व्यवस्थालाई पहिचान गरेर अघि बढेमात्र दुई देशबीच विद्यमान समस्या समाधानतर्फ जाने उनको तर्क छ । सुवेदीले भने, ‘नेपालको विदेश नीतिको सिद्धान्त नै ठिक ठाउँमा छैन । भूराजनीतिक अन्यौल पहिले दूर गर्नुपर्छ । पहिले भूराजनीति र विश्व व्यवस्थालाई बुझ्नुपर्छ अनि सबै समस्या समाधानतर्फ जान्छ ।’ भारतविरोधी राष्ट्रवादलाई नै राष्ट्रवाद मान्ने गतिविधिले सम्बन्ध बिगार्नुका साथै नेपालको आर्थिक प्रगति नै रोकेको बताउ । उनले भने, ‘जबसम्म भूराजनीतिक सुस्पष्टता आउँदैन तबसम्म अन्य मुद्दाहरुको निक्र्यौल हुँदैन ।’ नेपालमा लगानी गर्ने वातावरण निर्माण अनिवार्य रहेको र त्यसो भएमा ठूलो विदेशी लगानी आउने बताए । सँसारको सबैभन्दा ठूलो बजार भारत भएको र त्यो अवसरलाई नेपालले बरदानका रुपमा चिन्नुपर्ने बताए ।
भारतकी प्राध्यापक डा. निशा तनेजाले नेपालमा बाह्य लगानीको अपार सम्भावना रहेको बताए । जलस्रोतका अलावा औषधी, खाद्य उत्पादनका साथै आइटीमा भारतको लगानी आउनसक्ने बताए । नेपालबाट लगानीको राम्रो वातावरण निर्माण भएमा भारतीय लगानी आकर्षित हुने बताए ।
जेएनयूका अन्तर्राष्ट्रय सम्बन्धका प्राध्यापक राजेश खराटले शैक्षिक सम्बन्धलाई अझ फराकिलो बनाउने नीतिहरु बनाउँदै जानुपर्ने बताए । भारतको नेपालसँगको सीमा क्षेत्रमा नेपाल अध्ययन केन्द्र र नेपालतर्फको भारतसँगको सीमा क्षेत्रका राज्यहरुमा भारत अध्ययन केन्द्र स्थापनामा जोड दिए । दुई देशबीचको अध्ययन केन्द्रले शिक्षाका माध्यमले सामिप्यता बढ्नुका साथै एक अर्काबारे थप अध्ययनबाट साझेदारीका सम्भावना बढ्ने आशा व्यक्त गरे ।
भारतका अर्थशास्त्री डा. पंकज बशिष्ठले जलस्रोतका क्षेत्रमा देखिएका समस्याको समाधान खोजेर थप उत्पादनमा लाग्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालसँग एक लाख मेगावाट क्षमता छ जसको उत्पादन होस् भन्ने भारत चाहन्छ ।’ नेपालमा जडिबुटी प्रशोधन र पर्यटनको अपार सम्भावना रहेको र त्यसका लागि भारतको लगानी निकै बढ्नसक्ने बताए । बुद्धिजम सर्केट बनाएर पर्यटनको विकासमा जान सकिने उनको भनाई थियो । केआइसी कजेलअफ ल का प्राचार्य डा. रुद्र शर्माले कृषिमा अपार सम्भावना रहेको र उत्पादनको बजार भारतलाई बनाउनेतर्फ पनि लाग्नुपर्ने बताए । उनले कृषिले ठूलो रोजगारी दिने भएकाले त्यसतर्फ पनि जानुपर्ने बताए । जलस्रोत र पर्यटनमा दुवै देशले मिलेर थप कार्य गर्न सक्ने पनि बताए ।
अर्थशास्त्री अनलराज भट्टराईले नेपाल र भारतबीच संयुक्त आर्थिक क्षेत्र निर्माण गर्न सकिने बताए । नेपाल भारतबीच सीमामा आपूर्ति सञ्जाल निर्माण गर्न सके उत्पादनहरु सहजै आपूर्तिको वातावरण विकास हुने उनको तर्क छ । कृषिमा भारतले ठूलो प्रगति गरेको र त्यस्ता प्राविधिक उपलब्धिबाट नेपालले पनि लाभ लिन सक्ने गरी सहयोगको आग्रह गरे ।


























