काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले हिन्दू राष्ट्र स्थापनाका लागि सडक र सदन दुवैबाट दबाब सिर्जना गर्नुपर्ने बताएकी छन् ।
नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले हिन्दू राष्ट्रको पक्षमा राजनीतिक दल र नेताहरूलाई निरन्तर खबरदारी गर्न धार्मिक गुरुहरूलाई आग्रह गरेकी हुन् ।
मठमन्दिरमा पुग्ने सबै राजनीतिक दलका नेताहरूलाई हिन्दू राष्ट्र स्थापनाबारे प्रश्न गर्नुपर्ने उनको भनाइ छ । सनातनी समुदायको विश्वास जित्न हिन्दू समुदायका मुद्दामा खुलेर उभिनुपर्ने भन्दै ओलीले गौहत्या, गौतस्करी तथा हिन्दू समुदायमाथि हुने हिंसाका घटनाविरुद्ध सडकमा उत्रिनुपर्नेमा जोड दिइन् ।
उनले हिन्दू समुदायको पक्षमा आवाज उठाउन नसक्दा राप्रपा तथा सनातन धर्मसँग जोडिएका संगठनप्रति विश्वास कमजोर भएको स्वीकार गर्दै अब व्यवहारमै धार्मिक समुदायको संरक्षणका लागि सक्रिय हुनुपर्ने बताइन् ।
हिन्दू राष्ट्र स्थापनाका लागि राप्रपाले संसदभित्र निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाउँदै उनले धार्मिक गुरु तथा संगठनहरूलाई संसदबाहिरबाट आन्दोलन र दबाबमार्फत सहयोग गर्न अपिल गरिन् ।


























