काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने स्थलमार्ग हुँदै काठमाडौं आउदैँ गरेको बुझिएको छ । पार्टीका कार्यबाहक प्रवक्ता मनीष झाका अनुसार लामिछाने बिहान १० बजे नै स्थलमार्ग हुँदै पोखराबाट हिंडिसकेका छन् ।
हवाइ मार्गबाटै जाने तयारी भएपनि नेता कार्यकर्ताको ठूलो समूह भएकाले रवि स्थलमार्गबाट काठमाडौँ आउन लागेको कार्यबाहक प्रवक्ता झाले बताए । ‘धेरै ठूलो समूह भयो, गाडी मै जाऔं म पनि सँगै जान्छु भन्नुभयो’, उनले सुनाए ।
लामिछाने अदालतमा जतिसक्दो चाँडो उपस्थित हुनेगरी हिडेको उनको भनाई छ । झासहितका केही नेताहरू भने म्याग्दी, पर्वत लगायतका केही जिल्लामा आयोजित कार्यक्रमका लागि उतै बसेका छन् ।
सहकारी रकम अपचलनको अभियोगमा पक्राउ परेका लामिछाने बिहिवार राति ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।