चितवन–  बागमती प्रदेशअन्तर्गतका स्वास्थ्य संस्था नवीकरण नहुँदा सुविधाबाट वञ्चित भएका छन् । ऐन, नियमावली र मापदण्ड निर्माणमा भएको ढिलाइले प्रदेश सरकार मातहत सञ्चालित अस्पताल तथा स्वास्थ्य संस्थाको दर्ता र नवीकरण ढप्प भएको हो ।


ADVERTISEMENT


पुष्पाञ्जली अस्पताल भरतपुरका सञ्चालक डा भोजराज अधिकारीले अस्पताल दर्ता नवीकरण नहुँदा उपकरण खरिदमा भन्सार छुट र मूल्य अभिबृद्धि कर (भ्याट) छुट सुविधाबाट बञ्चित हुनु परेको बताए । “एक वर्षदेखि भन्सारमा रोकिएको सिटी स्क्यान मेसिनमा छुट बिना नै ल्याउनु प¥यो”, उनले भने, “लिलाम हुने अवस्था आएपछि करिब रु ६० लाखभन्दा बढी खर्चेर उपकरण ल्याउन बाध्य भइयो ।”


ADVERTISEMENT

# # #


भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष समेत रहेका डा अधिकारीले अस्पताल नवीकरण नहुँदा एम्बुलेन्स, शववहानलगायतका सवारीसाधन र उपकरण खरिदमा समस्या भएको बताए । नवीकरण नहुँदा अस्पतालको स्तरोन्नति रोकिएको र  शैक्षिक कार्यक्रम प्रभावित बनेको उनको भनाइ छ ।

निजी अस्पताल समन्वय समिति चितवनका अध्यक्ष बिक्रम अधिकारी सरकारले ढिला गरी ऐन पारित गर्दा अस्पताल प्रभावित बनेको बताउँछन् । उपकरण खरिद रोकिएको, बैंकको कर्जा प्रवाहमा असर परेको, सरकारले प्रदान गर्ने सेवा दिए वापतको भुक्तानी रोकिएको, शैक्षिक कार्यक्रम प्रभावित भएको, अस्पताल स्तरोन्नति र स्तरवृद्धि हुन नसकेको उनको भनाइ छ ।

उनका अनुसार बागमती प्रदेशमा सञ्चालित एक सय ९५ अस्पतालले उक्त समस्या भोगिरहेका छन् । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन भुषालका अनुसार स्वास्थ्य सेवा ऐन, स्वास्थ्य सेवा नियमावली र ‘स्वास्थ्य संस्थाको आशयपत्र, सेवा सञ्चालन अनुमति, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी मापदण्ड, २०८१’ तयार भए पनि राजपत्रमा प्रकाशित नहुँदा काम सुरु हुन नपाएको हो । उनले भने, “अबको एक दुई दिनमा मापदण्ड राजपत्रमा प्रकाशित हुन्छ र दर्ता र नवीकरणको काम सुरु हुन्छ ।”

कूल २६ देखि ५० शय्यासम्मका अस्पताल प्रदेशको स्वास्थ्य निर्देशनालयमा दर्ता हुने प्रावधान छ । उनले ५१ शय्यादेखि दुई सय शय्यासम्मका अस्पताल दर्ता र नवीकरणका लागि ६३ वटा फाइल दर्ता भए पनि प्रक्रिया अगाडि नबढेको बताए ।