काठमाडौँ– पूर्वगृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेको बयान यतिबेला काठमाडौँ जिल्ला अदालतमा जारी छ । हाल उनको तर्फबाट सहकारीको बचत अपचलनसम्बन्धी मुद्दाको थुनछेक बहसमा सरकारी वकिलको तर्फबाट फणीन्द्र कटुवालले बहस गरिरहेका छन् ।
न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको थुनछेक बहस सुरू भएको हो । इजलासले २ घण्टामा बहस सिध्याउने गरी कानून व्यवसायीहरुलाई आग्रह गरेपछि लामिछानेको तर्फबाट पूर्वमहान्यायाधिवक्ताद्वय सुशीलकुमार पन्त र रमणकुमार श्रेष्ठले मात्रै बहस गर्ने भएका छन् ।
तर, उनीहरू अहिलेसम्म अदालत पुगिसकेका छैनन् । उनको तर्फका वकिलहरू संयोजन गरिरहेका अधिवक्ता यज्ञमणि न्यौपानेले दुवै पूर्वमहान्यायाधिवक्ता अदालतबाट नजिकैको दूरीमा रहेकाले पालो आउनासाथ इजलासमा उपस्थित हुनेछन् । ११ सरकारी वकिल र जाहेरवालाका केही वकिल पनि वकालतनामा पेश गरेका कारण आफूहरूले धेरैलाई बहस गराउन नचाहेको न्यौपानेले बताए ।
‘तर, दुई घण्टामा सकिन्छ्जस्तो लाग्दैन’, उनले भने । रविको बयान आज पनि नसकिए रवि पुनः प्रहरी हिरासतमै फर्किने उनको भनाई छ ।
प्रहरीले काठमाडौंको कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो । उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदावी गरेको छ ।
यसअघि लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते धरौटीमा रिहा भएका थिए । यद्यपि आईतबार आफैँ अदालत उपस्थित भएका लामिछानेलाई हिजो बयान नसकिएपछि पुनः हिरासतमा पठाइएको थियो ।