काठमाडौँ– लामो समयदेखि प्रतिक्षारत तारे होटेलले अन्ततः उद्योगको मान्यता पाएको छ । वर्षौंदेखि सरकारसँग उत्पादनमूलक क्षेत्रमा पारिदिन लविङ गरिरहेको होटेललाई औद्योगिक व्यवसाय ऐन २०७६ संशोधन गर्दै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगमा सूचीकृत गरिएको हो।
सत्ता साझेदार नेपाली कांग्रेस तथा नेकपा एमालेले गठन गरेको व्यवसायिक वातावरण सुधारका लागि कानून सुधार कार्यदलको सिफारिसबमोजिम सरकारले अघि बढाएको विभिन्न अध्यादेशमा औद्योगिक व्यवसाय ऐन २०७६ को संशोधन प्रस्तावमा तारे होटल र पर्यटन रिसोर्टलाई वर्गीकृत गरेको छ ।
यो अध्यादेश मन्त्रिपरिषद्को बैठकबाट पास भए पनि पारितका लागि राष्ट्रपति कार्यालयमा पठाउन बाँकी छ। राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको खण्डमा तारे होटल र पर्यटन रिसोर्टले उत्पादनमूलक उद्योगको मान्यता पाउने छन्।
औद्योगिक व्यवसाय ऐन, २०७६ ले पर्यटन सेवालाई उद्योगको मान्यता दिएको छ। पर्यटक आवास, मोटेल होटल, रिसोर्ट, बार तथा रेस्टुराँलाई पनि पर्यटन सेवाभित्र राखेको छ। तर, होटल व्यवसायीले राष्ट्रिय प्राथमिकता प्राप्त र उत्पादनमूलक उद्योगको मान्यता खोजिरहेका छन्। यस्ता उद्योगलाई औद्योगिक तथा लगानी प्रवर्द्धन बोर्डको सिफारिसमा सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी विभिन्न सुविधा तथा सहुलियत दिन सक्ने व्यवस्था ऐनमा छ।
यस्ता छन् औद्योगिक व्यवसाय ऐनमा उद्योगलाई दिइएका सेवा सुविधा
– राष्ट्रिय प्राथमिकता उद्योग सञ्चालन गर्न सरकारी स्वामित्वको जग्गा आवश्यक परे सम्बन्धित उद्योगले आफूलाई आवश्यक पर्ने जग्गा क्षेत्रफल खुलाई जग्गा उपलब्ध गराउन उद्योग दर्ता गर्ने निकायमा निवेदन दिने व्यवस्था गरिएको छ।
– ऐनले वर्गीकरण गर्दै उत्पादनमूलक उद्योगभित्र कच्चा पदार्थ, सहायक कच्चा पदार्थ वा अर्ध प्रशोधित कच्चा पदार्थको प्रयोग वा प्रशोधन गरी माल वस्तु उत्पादन गर्ने उद्योगलाई समेटिएको छ। व्यवसायीका अनुसार होटलको ४० प्रतिशत आम्दानीको स्रोत उत्पादन पक्ष हुने गरेको छ। कच्चा पदार्थमा आधारित उत्पादन हुने हुँदा अर्धप्रशोधित उत्पादनबाट होटल क्षेत्रले सेवा प्रवाह गरी आर्थिक लाभ लिने भएकाले होटल क्षेत्रलाई उत्पादनमूलक उद्योगको श्रेणीमा राखिनुपर्छ।
– ऐनले उत्पादनमूलक उद्योगबाट आर्जित आयमा लाग्ने करमा २० प्रतिशत छुट व्यवस्था गरेको छ। त्यस्तै, यस्ता उद्योगले आफ्नो उत्पादन निर्यात गरी आर्जित आयमा लाग्ने करमा ५ प्रतिशत छुट सुविधा दिएको छ। त्यति मात्र होइन, मदिराजन्य उत्पादन वाहेकका उत्पादनमूलक उद्योगले व्यावसायिक उत्पादन वा कारोबार सुरु गरेको मितिले १० वर्षसम्म आयकरमा क्रमशः ९०, ८० र ७० प्रतिशत छुट व्यवस्था गरेको छ। यो सुविधा लिन व्यवसायीले होटललाई उत्पादनमूलक उद्योगमा समेट्न माग गर्दै आएका छन्।
– ऐनमा १ अर्बभन्दा बढी पुँजीमा खोलिने ५ सय बढीलाई वर्षभरि प्रत्यक्ष रोजगारी दिने उत्पादनमूलक वा सेवामूलक उद्योगलाई कारोबार सुरु भएको मितिले ५ वर्षसम्म पूर्ण रुपमा र त्यसपछिको तीन वर्षसम्म ५० प्रतिशत आयकर छुट दिने व्यवस्था छ।
– उत्पादनमूलक उद्योगले आफ्नो कुल जनशक्तिमध्ये कम्तीमा १० प्रतिशत प्रशिक्षार्थी कामदार राखी प्रशिक्षण दिँदा दिइएको निर्वाह खर्च, प्रशिक्षण खर्च र उद्योगमा कार्यरत जनशक्तिको उत्पादन क्षमता विकासमा भएको खर्च रकम आयकर गणनाबाट कट्टी गर्न सकिने व्यवस्था पनि ऐनमा छ।