काठमाडौं – आफ्नो १००औँ एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) खेलमा नेपालले जित निकाल्दै राइजिङ स्टार्स एसिया कपमा पहिलो सफलता हात पारेको छ ।

कुशल भुर्तेलको उत्कृष्ट अलराउन्ड प्रदर्शन र कप्तान सन्दीप लामिछानेको घातक बलिङमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT

# #


आइतबार कतारमा भएको खेलमा यूएईले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले २२ ओभरमै ४ विकेट गुमाएर पूरा गर्‍यो । यससँगै नेपालले आफ्नो १००औँ ओडीआई खेललाई जितसँगै स्मरणीय बनाएको छ । यो नेपालको ओडीआई क्रिकेटमा ५०औँ जितसमेत हो ।

नेपालको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुवैमा प्रभाव जमाए । उनले ५६ बलमा ६ चौका र एक छक्कासहित सर्वाधिक ५७ रन बनाए । मयन यादवले २७ तथा बसिर अहमदले अविजित १८ रनको योगदान दिए ।


ADVERTISEMENT

#
#


त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएईले ३९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १२१ रन बनाएको थियो । यूएईका मोहम्मद शाहदादले ४० र हरप्रीत सिंह भाटियाले ३२ रन बनाए पनि अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

यूएईलाई सस्तैमा समेट्ने क्रममा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । उनले १० ओभरमा मात्र ११ रन खर्चेर ३ मेडनसहित ३ विकेट लिए । कुशल भुर्तेलले पनि ३ विकेट हात पारे । यस्तै नन्दन यादव, रासिद खान र ललित राजवंशीले एक–एक विकेट लिए ।

प्रतियोगिताको पहिलो खेलमा भारत एसँग ३०६ रनको फराकिलो हार बेहोरेको नेपालले दोस्रो खेलमा जित निकाल्दै पुनरागमन गरेको छ । नेपालले अब मंगलबार पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।