काठमाडौँ– समाजवादी मोर्चाले आगामी माघ १६ गते काठमाडौंमा आमसभा गर्ने निर्णय गरेको छ ।
नेकपा एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा बुधबार बसेको मोर्चाको बैठकले माघ १६ गते काठमाडौंमा सभासहितको भव्य कार्यक्रम गर्ने निर्णय भएको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए ।
नेताहरुको कार्यव्यस्तताका कारण मोर्चा सुस्त भएको समिक्षा गर्दै मोर्चालाई शसक्त रुपमा अघि बढाउने निर्णय गरिएको उनले बताए । उनले मोर्चाका सबै गतिविधि र कामको समिक्षा गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको र माघ १२ गतेभित्र शीर्ष तहमा प्रतिवेदन हस्तान्तरण गर्ने जानकारी दिए ।
त्यस्तै बैठकमा सरकारको पछिल्ला क्रियाकलापका बिषयमा छलफल भएको र संसद छलेर सरकार अध्यादेशको बाटोमा निरंकुश ढंगले अघि बढ्न खोजेको हो कि भन्ने आशंका देखिएको विश्वकर्माले बताए । यसअघि समाजवादी मोर्चाको पछिल्लो बैठक साउन ६ गते बसेको थियो ।


























































