काठमाडौं – नेपाल टेलिकमले विश्वकै सर्वाधिक लोकप्रिय खेल प्रतियोगिता फिफा विश्वकप २०२६ लाई लक्षित गर्दै आफ्ना आईपीटिभी ग्राहकहरूका लागि विशेष ‘फिफा विश्वकप २०२६ टिभी प्याकेज’ सार्वजनिक गरेको छ। यस योजनामार्फत ग्राहकहरूले विश्वकपका सम्पूर्ण रोमाञ्चक खेलहरू प्रत्यक्ष रूपमा हेर्ने अवसर प्राप्त गर्नेछन्।
टेलिकमका अनुसार केवल १११ रुपैयाँ शुल्कमा ग्राहकहरूले उक्त प्याकेज सक्रिय गरी विश्वकपको प्रत्यक्ष प्रसारणको आनन्द लिन सक्नेछन्। एनटीटिभी प्रयोगकर्ताले हिमालय स्पोर्ट्स च्यानल चयन गरेपछि प्राप्त हुने कोड र ओटीपी प्रक्रियामार्फत सहज रूपमा प्याकेज सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ। साथै, नजिकको ग्राहक सेवा केन्द्रबाट समेत यो सेवा सक्रिय गर्न सकिने जनाइएको छ।
यसैबीच, जेठ २६ गतेदेखि साउन ३ गतेसम्म वार्षिक १०० एमबिपिएस वा सोभन्दा माथिको प्रिमियम आईपीटिभीसहितको इन्टरनेट प्याकेज नयाँ जडान गर्ने, नवीकरण गर्ने वा स्तरोन्नति गर्ने ग्राहकहरूलाई फिफा विश्वकप २०२६ टिभी प्याकेज बोनसस्वरूप निःशुल्क उपलब्ध गराइने भएको छ।
विश्वकपजस्तो प्रतिष्ठित प्रतियोगिताको प्रत्यक्ष प्रसारण सहज रूपमा उपलब्ध गराउँदै ग्राहकलाई उत्कृष्ट मनोरञ्जन सेवा प्रदान गर्ने उद्देश्यका साथ यो योजना ल्याइएको नेपाल टेलिकमले जनाएको छ। कम्पनीले आगामी दिनमा पनि आधुनिक प्रविधि र गुणस्तरीय सेवामार्फत ग्राहकको अपेक्षा पूरा गर्न निरन्तर प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरेको छ।


























































