काठमाडौँ– वसन्तपञ्चमी अर्थात श्रीपञ्चमी पर्व मुलुकभर महामन्जुश्रीको पूजाआराधना गरि मनाइएको छ ।
चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी सरस्वतीलाई भारती, शारदा, हंसबाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिधात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पनि पुकारिन्छ ।
श्रीपञ्चमीका दिन हिन्दू तथा बौध्दधर्मावलम्बी विशेष गरी छात्रछात्राको स्वयम्भूमा ठूलो घुइँचो लाग्छ । श्रीपन्चमीका दिन विवाह, व्रतबन्ध, बाह्राः र इही जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने जनविश्वास रहेको छ ।
यसैदिनदेखि ऋतु परिवर्तन हुन्छ भन्ने धार्मिक मान्यता पनि रहेको छ । हिन्दू शास्त्रअनुसार ऋग्वेदमा वागदेवीका नामले प्रसिद्धि पाएकी ब्रह्मायणीको पूजोपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने भएकाले सरस्वती पूजा गर्ने चलन रहेको छ । गान्धर्व पुराणमा सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने उल्लेख छ ।
साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा तथा तान्त्रिकहरू तन्त्रसिद्धिका लागि तारादेवीका रूपमा सरस्वतीको आराधना गर्छन् ।
काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित मञ्जुश्री, नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा पूजाआजा गर्न मानिसको घुइँचो लाग्ने गर्छ ।