काठमाडौं – सरकारले सामाजिक सञ्जालमा प्रकाशित तथा प्रसारित सामग्रीको तथ्य जाँच (फ्याक्ट चेक) गर्ने विषयमा अध्ययन अघि बढाउने भएको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सामाजिक सञ्जालमा आउने सामग्रीको तथ्य जाँचका लागि छुट्टै अध्ययन अघि बढाइएको जानकारी दिएका हुन् । मन्त्री तिमिल्सिनाका अनुसार यस विषयमा सञ्चार मन्त्रालयले गृह मन्त्रालय तथा साइबर ब्युरोसँग आवश्यक छलफल, समन्वय र सहकार्य गरिरहेको छ ।
सामाजिक सञ्जालमा गलत सूचना तथा भ्रामक सामग्री सम्प्रेषण गर्ने प्रवृत्ति नियन्त्रणका लागि आवश्यक कदम चाल्नुपर्ने विषय संसद्मा समेत उठेको उनले बताए । गलत सूचना राख्ने व्यक्तिलाई सचेत गराउनेदेखि कानुनी कारबाहीसम्मका विषयमा सरकार गम्भीर रहेको उनको भनाइ छ ।
मन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत हुने चरित्र हत्या नियन्त्रणका विषयमा समेत सरकारले काम गरिरहेको जानकारी दिए । यसैगरी सरकारले आमसञ्चार क्षेत्रसँग सम्बन्धित कानुन परिमार्जनका लागि आमसञ्चार ऐन संशोधन विधेयक तथा प्रेस काउन्सिल नेपाल ऐन संशोधन विधेयक ल्याउने तयारी गरिरहेको उनले संसद्लाई जानकारी गराए ।





