काठमाडौँ– चितवन राष्ट्रिय निकुञ्जका सुरक्षाकर्मीले मकुना नामको हात्तीको हत्या गरेको भन्दै पशुअधिकारकर्मीहरुले विरोध जनाएका छन् ।
बिहीबार काठमाडौंको बबरमहलस्थीत राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग बाहिर प्रदर्शन गर्दै पशु कल्याण संघ नेपालले मकुना नामको हात्तीको हत्या गर्नेलाई कारवाही गर्न समेत माग गरेका छन् ।
सुरक्षाका नाममा हात्तीलाई सिधै गोली हानेर हत्या गरिएको संघको आरोप छ । प्रदर्शनमा सहभागीहरुले मकुनालाई न्याय दे, राष्ट्रिय निकुञ्ज मकुना–रोनाल्डोहरुको हो, आत्मरक्षाका नाममा निर्दोष जनावरको हत्या बन्द गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
पशु कल्याण संघ नेपाली अध्यक्ष स्नेहा श्रेष्ठले मकुना हात्तीलाई निर्ममता पूर्वक हत्या गरेको भन्दै दोषीलाई कारवाही गर्नुपर्ने बताए ।
उनले दोषीलाई कारवाही नभएसम्म निरन्तर दबाबका कार्यक्रम आयोजना गर्ने उल्लेख गरे । चितवन राष्ट्रिय निकुञ्जले भने सुरक्षा टोलीलाई आक्रमण गर्न आएपछि आत्मरक्षाका लागि गोली चलाउनुपरेको बताउदै आएको छ ।