काठमाडौँ– सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिंकु कुमारी सदाको सामूहिक बलात्कार र शंकास्पद मृत्यु घटना प्रकरणमा पक्राउ परेकामध्ये तीन जनाविरुद्ध म्याद थप भएको छ ।


ADVERTISEMENT


सिरहा प्रहरीले आइतबार मात्रै पञ्चायत बसेर पीडित परिवारलाई घटना ढाकछोप गर्न र लेनदेनमा मुद्दा मिलाउन दबाब दिने तथा प्रत्यक्षदर्शी गरी आठ जनालाई नियन्त्रणमा लिएको थियो । ती मध्ये ३ जनाको भूमिका शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको हो । उनीहरुमाथि हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने भन्दै प्रहरीले सोमबार सिरहा जिल्ला अदालतमा म्याद थपका लागि उपस्थित गराएको थियो । सोमबार मात्रै अदालतले ३ जनाविरुद्ध ५ दिनको म्याद थप गरेको हो ।


ADVERTISEMENT

# # #


गत माघ २७ मा शौच गर्न गएकी रिंकुलाई अपहरण गरी तीन युवाले बलात्कार गरी अचेत अवस्थामा घर पु¥याएको बताइएको छ। रिंकुले तीन जनाले आफ्नो बलात्कार गरेको बताएकी थिइन्। घटना मिलाउन गाउँमै पञ्चायत भएको थियो। त्यसको भोलीपल्ट माघ ३० मा रिंकु घरमै झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्।

सुरुमा इलाका प्रहरी कार्यालय लहानले आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान अघि बढाएकामा सामूहिक बलात्कार भएको समाचार सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति बनाएको छ।

पीडित परिवारले बलात्कारका तीन आरोपी र पञ्चायतमार्फत दबाब दिने पाँच पञ्चसहित आठ जनामाथि गत बिहीबार कर्तव्य ज्यान, जबरजस्तीकरणी, शरीर बन्धक र लेनदेन मिलापत्र गरी चारवटा शीर्षकमा पुरक जाहेरी दिएका छन्। जाहेरीमा किटान गरिएका व्यक्ति भने कोही पनि पक्राउ परेका छैनन्।

रिंकुको शव परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइए पनि हालसम्म रिपोर्ट नआएको वरिष्ठ प्रहरी उपरीक्षक कोइरालाले बताए।