काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आइपुगेका छन् । एक महिना अघि पोखरा गएका शाह आइतबार अपराह्न सम्मिट एयरको चार्टर्ड जहाजमार्फत काठमाडौ आइपुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई राजावादी पार्टी र समूहका नेता कार्यकर्ताले स्वागत गरेका छन् । साथै अन्य समर्थक पनि शाहको स्वागतका लागि एयरपोर्ट पुगेका थिए । एयरपोर्ट उत्रिएलगत्तै शाह महाराजगञ्जस्थित निर्मल निवास प्रस्थान गरेका छन् ।
पूर्वराजा शाहले गत फागुन ७ गते एक सन्देश जारी गर्दै जनताले चाहे आफू टुलुटुल हेरेर नबस्ने र पुनः राजगद्दिकमा फर्किने आशयको सम्बोधन गरेका थिए । उनको सन्देशले राजनीतिक वृतमा तरंग पैदा गरेको छ भने राजावादीहरु हौसिएका छन् ।
राजेन्द्र लिंदेनको राष्ट्रिय प्रजातन्त्र पार्टी र कमल थापाको राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)ले देशका केही स्थानमा जुलुस गरेका छन् । उनीहरुले आइतबार पनि पूर्वराजाको स्वागतका लागि विमानस्थलमा आफ्ना नेता कार्यकर्ता उतारेका थिए ।