काठमाडौं – सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले चलचित्रमार्फत देशलाई पर्यटन गन्तव्यका रूपमा अघि बढाउने उद्देश्यका साथै पुरानो चलचित्र विधेयकलाई संशोधन गर्न लागिएको बताएका छन् ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा चलचित्र विधेयक, २०८१ माथि संशोधनकर्ता सांसदसंगको छलफलका क्रममा मन्त्री तिमिल्सिनाले २०२६ सालमा बनेको चलचित्र ऐनलाई समयसापेक्ष परिमार्जन गरी समावेशी, सङ्घीय संरचना र नयाँ प्रविधिअनुरूप बनाउन नयाँ चलचित्रसम्बन्धी विधेयक तर्जुमा गर्नुपर्ने आवश्यकता रहेको बताए ।
उनले चलचित्र क्षेत्रलाई सामाजिक, सांस्कृतिक र मनोरञ्जनात्मक उद्योगका रूपमा विकास गर्ने तथा चलचित्रमार्फत देशलाई पर्यटन गन्तव्यका रूपमा अघि बढाउने उद्देश्यका साथै संशोधन विधेयक ल्याएको उल्लेख गरे । उनले स्वदेशी तथा विदेशी चलचित्र प्रदर्शन गर्नुअघि चलचित्र जाँच गर्ने व्यवस्था मिलाउने र स्वदेशी चलचित्रको विकास, विस्तार, प्रवर्धन तथा नियमन गर्न आवश्यक रहेको बताए । चलचित्र क्षेत्रको विकास, विस्तार, प्रवर्धन र नियमनका लागि स्वायत्त संस्थाको रुपमा चलचित्र विकास बोर्ड रहने भन्दै उहाले पदाधिकारी छनोट स्वच्छ र निष्पक्ष हुने उल्लेख गरे ।
साथै उनले स्वायत्तता आवश्यक भए पनि स्वायत्त संस्थाहरू बिग्रिएका धेरै उदाहरण देखिएकाले जवाफदेहितामा जोड दिनुपर्ने बताए । राजनीतिक विचारधारा वा दलीय प्रभावभन्दा माथि उठेर संस्थाको हितलाई मुख्य मान्नुपर्ने भएपनि कतिपय कानुनी व्यवस्थाको दुरुपयोग र सदुपयोग दुवै भएको उनको भनाइ छ ।



























