काठमाडौँ– भारतका ग्रामीण विकास तथा कृषि तथा किसान कल्याण मन्त्री शिवराज सिंह चौहानले चैत २६ देखि २८ गतेसम्म नेपालको औपचारिक भ्रमण गरेका छन्।
भ्रमणको मुख्य उद्देश्य चैत २७ गते काठमाडौंमा आयोजित तेस्रो बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) कृषि मन्त्रीस्तरीय बैठकमा सहभागी भए ।
भ्रमणका क्रममा मन्त्री चौहानले नेपालका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग द्विपक्षीय बैठक गरेका थिए। बैठकमा दुवै मन्त्रीले कृषि क्षेत्रमा भएका द्विपक्षीय पहल र विकास परियोजनाहरूको समीक्षा गर्नुका साथै थप सहकार्यका अवसरहरूमा छलफल गरेका थिए।
चैत २७ गते दुवै मन्त्रीले कृषि क्षेत्रमा सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। यो सम्झौताले कृषि विज्ञान तथा प्रविधि, कृषि उत्पादन, कृषि व्यापार, बिरुवा संरक्षण, बागवानी, जैविक खेती लगायतका क्षेत्रमा सहयोग प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।
मन्त्री चौहानले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता पनि गरेका थिए। भेटवार्तामा दुई देशबीचको घनिष्ठ सम्बन्ध र कृषि क्षेत्रमा सहकार्यलाई थप सुदृढ पार्ने विषयमा छलफल भएको थियो।
भ्रमणले दुई देशबीचको नियमित उच्च(स्तरीय आदानप्रदानलाई निरन्तरता दिनुका साथै कृषि र सम्बन्धित क्षेत्रहरूमा द्विपक्षीय र क्षेत्रीय सम्बन्धलाई थप बढावा दिएको छ।




























































