लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशमा भयावह रुपमा देखा परेको कुपोषण, बाल मृत्युदर, मातृ मृत्युदरको चुनौती सामना गर्न सबै पक्ष जुट्न जरुरी रहेको बताएका छन् ।
लुम्बिनी प्रदेश योजना आयोग र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको आयोजनामा सोमबार दाङको लमहीमा आयोजित स्वच्छ र पोषणयुक्त खाद्यमा सबैको पहुँच विषयक खाद्य प्रणाली संवाद कार्यक्रममा उनले हाल देखा परेका समस्याहरु समाधान गर्न स्वास्थ्य मन्त्रालय, सामाजिक विकास मन्त्रालय र कृषि मन्त्रालय मिलेर योजनासहितको काममा जुट्न जरुरी रहेको बताए ।
मुख्यमन्त्री आचार्यले बढ्दो कुपोषण, कम तौललगायत समस्या निराकरण गर्न विद्यालयबाटै बालबालिकाबाट पोषणयुक्त खानाको सचेतना जगाउनुपर्ने बताए । उनले पोषणको अवस्था सुधारका लागि समस्याग्रस्त पालिकाहरुको पहिचान गरेर काम गर्ने वातावरण बनाउन प्रदेश सरकारले ध्यान दिने बताए ।
लुम्बिनी प्रदेशमा अहिले पनि कुपोषणको दर उच्च रहेको पाईएको छ । लुम्बिनी प्रदेश योजना आयोगका अनुसार, प्रदेशमा २५ प्रतिशत पुड्कोपना, १६ प्रतिशत ख्याउटेपन, २३ प्रतिशत कम तौल तथा ४९ प्रतिशतमा रक्त अल्पता रहेको छ ।
कार्यक्रममा सहभागीहरुले बढ्दो कुपोषण कम गर्न समुदाय स्तरमा सचेतनासँगै राज्यको लगानी बढाउन आवश्यक रहेकोमा जोड दिएका थिए ।