काठमाडौँ– पाकिस्तानमा सञ्चालन भएको आठौँ अन्तर्राष्ट्रिय पाकिस्तान आर्मी टीम स्प्रिटमा स्वर्ण पदक विजेता नेपाली सेनाको टोलीलाई प्रधानसेनापति अशोक राज सिग्देलले सम्मान गरेका छन् ।


ADVERTISEMENT


मंगलबार जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच उनले ‘प्रधानसेनापति प्रशंसा निशान’ द्वारा सुशोभित गरेका हुन् । अन्तर्राष्ट्रिय स्तरको सैन्य अभ्यासमा उत्कृष्ट नतिजा ल्याई नेपाल र नेपाली सेनाको छवि एवं गौरव बढाउन पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन स्वरूप प्रतियोगितामा सहभागी ११ जनालाई सम्मान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


सेनाका अनुसार चैत्र २८ देखि वैशाख ५ गतेसम्म पञ्‍जाव प्रान्तको खेरियान इलाकामा १६ राष्ट्रका २४ वटा अन्तर्राष्ट्रिय टोलीहरूको सहभागितामा सञ्चालित उक्त सैन्य अभ्यासमा सहभागी टोलीहरू बिच शारीरिक सहिष्णुता, मानसिक दृढता, पेसागत ज्ञान र रणकौशल लगायतका दक्षताहरूको परीक्षण गरिएको थियो ।

सन् २०१६ बाट वार्षिक रूपमा सञ्चालन हुँदै आएको अन्तर्राष्ट्रिय स्तरको यस प्रतियोगितामा नेपाली सेनाले यस अघि सन् २०२२ मा समेत सहभागी भई स्वर्ण पदक प्राप्त गरेको थियो ।