काठमाडौँ — नेपाली कांग्रेस बाग्मती प्रदेश सभापति ईन्द्र बहादुर बानियाँले वर्तमान राजनीतिक माहोल र सामाजिक प्रवृत्तिमाथि तीखो टिप्पणी गरेका छन्। नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले अहिलेको समय गाली होइन, कर्म गरेर देखाउने समय भएको स्पष्ट पारे।
बानियाँले विगतदेखि २०४८ सालपछिसम्म भएका विकास प्रयासहरूको स्मरण गर्दै भने, ‘हामीले जनताको क्षमता बढायौं, जीवनस्तर उकास्यौं। तर, आम्दानीभन्दा बढी खर्च गर्ने बानीले अहिले जनता आफैँ समस्यामा परेका छन्।’ यद्यपि नागरिकहरु सामाजिक सञ्जालमा नेताहरू र वर्तमान प्रणालीप्रति बढ्दो गुनासो गर्न लागि परेको उनको राय छ । यो अवस्थालाई हटाउन अब लागिपर्नुपर्ने बताउदैँ उनले भने, “अब बोल्ने मात्रै होइन, काम गर्ने समय हो।”
यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै बानियाँले कटाक्ष गरे, “अमेरिका टिक्न नसकेको मान्छे नेपालमा आएर टिकेको छ। राम्रो काम नगरे जेल जानु स्वाभाविक हो। बोल्न मात्रै जानेर हुँदैन, कर्म गर्नुपर्छ।”
धर्म, जात र राजाको बहस अब अर्थहीन भइसकेको भन्दै गणतन्त्रको मूल भावना बुझ्नुपर्नेमा उनले जोड दिए । “राजाको कुरा गरेर अघि बढिन्न, अब कर्म गर्न सिक्नुपर्छ। राज्यको धर्म हुँदैन, धर्म आस्थाको कुरा हो,” बानियाँले प्रस्ट पारे।
राजसंस्थाका नाममा राज्यबाट लिइएको रकमको प्रसंग उठाउँदै उनले भने, “हामीले प्रजातन्त्रका नाममा राजालाई ११ करोड दियौं। पछि राजा ज्ञानेन्द्रले ६१ करोड, त्यसपछि चरणबद्ध रूपमा २ अर्बभन्दा बढी लिएका छन्। यस्तोमा राजा जनताको पक्षमा छन् भन्न मिल्दैन।”
अब आलोचना नगरी जिम्मेवारी र परिणाममा केन्द्रित राजनीति गर्नुपर्ने समय आएको बानियाँले बताए ।