काठमाडौँ– काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले आफूले उपमेयरको रूपमा गरेका सकारात्मक कामहरू देख्न नचाहने व्यक्तिहरूले नियोजित रूपमा घेराबन्दी गरिरहेको आरोप लगाएकी छन्।
लोकतन्त्र दिवसको अवसरमा नेकपा एमालेले भृकुटीमण्डपमा आयोजना गरेको ‘युथ सेलिब्रेशन’ कार्यक्रममा बोल्दै डंगोलले भनिन्, ‘मैले गरेको काम देशभित्र मात्रै होइन, संसारका विभिन्न ठाउँमा गएर आफूले गरेको काम र अनुभव साट्ने र सिक्ने यात्रा निरन्तर गरिररहे, त्यसले पनि विरोधीलाई पोल्यो। ’
सामाजिक सञ्जाल र सार्वजनिक टिप्पणीमार्फत आफूमाथि निराधार आरोप र व्यक्तिगत आक्षेपहरूको आक्रमण भइरहेको उनले जनाइन् । ‘जथाभावी बोल्ने र लेख्नेहरू राष्ट्रविरोधी मानसिकता बोकेकाहरू हुन्’, उनले भनिन्।
डंगोलले आफू, एमाले तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि भइरहेको आक्रमणलाई अझ उत्कृष्ट काममार्फत जवाफ दिने प्रतिबद्धता व्यक्त गरिन्। उनले प्रधानमन्त्री ओलीले पनि काम गरेकै र राष्ट्रवादी भएकै कारण थुप्रै आक्रमणहरु खेप्नुपरेको समेत बताइन् ।