काठमाडौं- नेकपा (एमाले) ले सांसदहरूले राख्ने स्वकीय (व्यक्तिगत सचिवालय) सम्बन्धी कार्यविधि पारित गरेको छ।
शुक्रबार सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकले सांसदहरूले राख्ने स्वकीय कर्मचारीको मापदण्डसहितको कार्यविधि निर्माण गरी पारित गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले संसद्मा छलफलका क्रममा रहेका विधेयकलाई थप परिमार्जित, प्रभावकारी र व्यावहारिक बनाउन गहन अध्ययन गर्न, विज्ञहरूसँग छलफल गर्न तथा संशोधन प्रस्तावमा सक्रिय सहभागिता जनाउन सांसदहरूलाई निर्देशन दिइएको जानकारी दिएकी छिन्।
उनले सरकारले ल्याएका विधेयक जस्ताको तस्तै पारित गर्दा भविष्यमा कानुनी जटिलता र समस्या आउन सक्ने भएकाले आवश्यक सुधारसहित मात्र पारित गर्नुपर्नेमा बैठकले जोड दिएको बताएकी छिन्।
त्यस्तै, सरकारले विद्यार्थीलाई सैनिक तालिम दिने जस्ता असान्दर्भिक विषयभन्दा जनजीविका, कानुन निर्माण र नागरिकका वास्तविक समस्यासँग सम्बन्धित विषयमा प्राथमिकता दिनुपर्ने धारणा पनि बैठकमा व्यक्त गरिएको उपनेता अर्यालले बताईन्।


























































