सुन्दरहरैँचा (मोरङ)— मोरङको सुन्दरहरैँचा नगरपालिका–१ हरैँचा बजारमा टिपरको ठक्करबाट एक मोटरसाइकल चालकको ज्यान गएको छ।


ADVERTISEMENT


कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी सुनसरी, दुहबी–९ निवासी ४० वर्षीय महमद हमिद मियाँको घटनास्थलमै मृत्यु भएको हो।


ADVERTISEMENT

# # #


विराटनगर–विराटचोक सडकखण्डअन्तर्गत हरैँचा बजारमा बिहान ११ बजेतिर ना १ क ६२७० नम्बरको टिपरले प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। टिपर विराटचोकबाट विराटनगरतर्फ गइरहेको थियो।

दुर्घटनापछि आक्रोशित स्थानीयले सडकमा प्रदर्शन गर्दै शव उठाउन मानेनन्। प्रदर्शन उग्र बन्दा स्थिति नियन्त्रणमा लिन प्रहरीलाई अश्रुग्यास र हवाइफायरसम्म गर्नुपर्‍यो। भिडले टिपरमा आगजनीको प्रयास गर्दा सवारीसाधनमा क्षति पुगेको कोशी प्रदेश प्रहरी प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले जानकारी दिए।

स्थानीय र मृतकका आफन्तले टिपर तीव्र गतिमा रहेको र ठक्करपछि ब्याक गरेर किचेको दाबी गरेका छन्। घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरीको ठूलो उपस्थिति रहेको थियो भने ट्राफिक व्यवस्थापनका लागि वैकल्पिक मार्ग प्रयोग गरिएको थियो।

स्थिति केही समय तनावपूर्ण बने पनि प्रहरी र मृतकका आफन्तबीच सहमति भएपछि शव उठाइएको छ। टिपर चालकलाई नियन्त्रणमा लिइसकिएको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।