काठमाडौँ – नेकपा माओवादी केन्द्रले सरकारको नीति तथा कार्यक्रम जनतामा आशा जगाउनेजस्तो नदेखिएको टिप्पणी गरेको छ ।


ADVERTISEMENT


शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै माओवादी प्रवक्ता अग्नि सापकोटाले सरकारको नीति तथा कार्यक्रम परम्परावादीजस्तो रहेकाले यसमा जनतामा आशा जगाउनेजस्तो केही नदेखिएको बताए । उनले नीति तथा कार्यक्रममा आगामी मार्गचित्र प्रष्टसंग नआएको जिकिर गरे । उनले भने, ‘अलिकति परम्परावादीजस्तो, अतितमुखी, आज र भोलिको स्पष्ट मार्गचित्र नभएको देखिन्छ । अनुगमनको अनुगमन भनिएको छ, आफैमाथि पनि अविश्वास भएजस्तो देखिन्छ । पहिले नै भनेको कुराहरु दोहोरिएका छन् । खासै नयाँपन छैन । यसले जनतामा आशा जोगाउन सक्दैन ।’


ADVERTISEMENT

# # #


त्यस्तै अनुगमनमाथि पनि अनुगमन गर्ने विषयले सरकारले आफैले आफैलाई विश्वास नगरेको संकेत गरेको उनले बताए । सापकोटाले नीति तथा कार्यक्रमकै आधारमा बजेट आउने भएकाले सरकारको बजेट पनि कर्मकाण्डजस्तै आउने देखिएको जिकिर गरे । सुशासन, सेवा प्रभाव र भ्रष्टाचार नियन्त्रणका विषयमा समेत सरकारको प्रष्ट दृष्टिकोण आउन नसकेको उनको भनाई छ ।

त्यस्तै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम प्राण भएको जस्तो नदेखिएको र गोलमटोल रहेको आरोप लगाए । उनले सरकार अस्पष्ट ढंगले हिडिरहेको अवस्थामा सरकारको कार्यक्रम पनि त्यस्तै अस्पष्ट रहेको बताए । उनले भने, ‘विगतकोजस्तो अलि ज्यान भएको, अलि प्राण भएको भएन । निरशजस्तो, स्पष्ट छैन । सरकार जसरी अस्पष्ट ढंगले हिंडिरहेको छ, नीति तथा ठ्याक्कै त्यस्तै देखियो ।’

पुनले कतिपय कुराहरु नीति तथा कार्यक्रममा नराखिएकाले पछि आफूखुसी बजेटमा राख्न खाजिएको हो की भन्ने आभाष भएको तर्क गरे ।