काठमाडौं – नेपाली सेनाले बाढीपहिरो तथा अन्य विपद्बाट प्रभावित विभिन्न क्षेत्रहरूमा हवाई र जमिनी खोज तथा उद्धार अभियानलाई तीव्र बनाएको छ।


ADVERTISEMENT


बुधबार साँझ ७ बजेसम्म नेपाली सेनाले हवाई साधनमार्फत थप ३४ जनाको उद्धार गरेको छ। यससँगै हालसम्म २७३ जना विदेशी नागरिकसहित ३,९२५ जनाको हवाई उद्धार गरिएको सेनाले जनाएको छ।


ADVERTISEMENT

# # #


रसुवागढी हाइड्रोपावरको टनेलमा नेपाली सेना र आयोजनाका इन्जिनियरसहितको टोली २७५ मिटरभित्रसम्म प्रवेश गरी खोजी गरिरहेको छ। उद्धारलाई तीव्र बनाउन हेभी मेसिन तथा एक्स्काभेटर टनेल क्षेत्रमा पुर्‍याउने तयारी भइरहेको छ।

लाङटाङ हाइड्रोमा विदेशी नागरिकसहित २५ जनाको संयुक्त टोली करिब १५० मिटरभित्र प्रवेश गरी खोजी गरिरहेको छ। चिलिमे हाइड्रोमा माउन्टेन एसोसिएसन तथा विदेशी सदस्यसहितको टोली १५० मिटरभित्र पुगेको छ। टनेल बन्द अवस्थामा भेटिएपछि साउन्ड डिटेक्टरमार्फत निगरानी भइरहेको छ।

अपर त्रिशूली–१ को टनेलको प्रवेशद्वार ढुंगाले छेकिएको अवस्थामा रहेकाले टोलीले भित्र प्रवेश गर्ने प्रयास गरिरहेको छ। हाकुबेसीमा विदेशी नागरिकसहितको संयुक्त टोली २६० मिटरसम्म पुगेर खोजी गर्दा हालसम्म केही फेला नपरेको सेनाले जनाएको छ।

त्रिशूली–३ए मा ९३ जनाको संयुक्त उद्धार टोली चारवटा स्काभेटर र एक बोबक्याट प्रयोग गरी टनेलको आउटलेटमा थुप्रिएको माटो तथा लेदो हटाइरहेको छ। कम्प्रेसर, ब्रेकर र ब्लास्टिङको प्रयोगपछि अगाडिको चट्टान हटाउने काम भइरहेको छ।

त्रिशूली–३बी मा नेपाली सेनाका ६१, गैरसैनिक तीन जना तथा आयोजनाका प्रबन्ध निर्देशकसहितको टोलीले आयोजनाको कार्यालय, आवास तथा क्याम्प क्षेत्र पहिचान गरी खोजी जारी राखेको छ।

नेपाली सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वका प्रभावित क्षेत्रसम्म ९,२०० भन्दा बढी सैनिक प्रत्यक्ष रूपमा परिचालन भएका छन्। उनीहरूले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक खुलाउने, राहत सामग्री ढुवानी तथा आकस्मिक उपचारमा सहयोग गरिरहेका छन्।

प्रभावित जंगल, डाँडा, खोला र बस्ती क्षेत्रमा पैदल गस्तीमार्फत स्थानीयलाई सुरक्षा प्रत्याभूति दिँदै उद्धार तथा स्वास्थ्य सेवा पनि सञ्चालन गरिएको छ। त्रिशूलीपारि कोलोनीदेखि तुप्चे, सोले बजारलगायत नुवाकोटका विभिन्न स्थानमा समेत खोज तथा उद्धार जारी छ। टिमुरे क्षेत्रमा फेला परेका शवलाई त्रिशूलीसम्म ल्याउन स्लिङ लोड अपरेसन सुरु गरिएको छ।

शव तथा विपद्बाट प्रभावित क्षेत्रलाई सुरक्षित र निसंक्रमण गर्ने उद्देश्यले रसुवाको धुन्चे तथा रेड पान्डा क्षेत्र, नुवाकोटको सैन्य तालिम केन्द्र र त्रिशूली, चितवनको देवघाट, धादिङको गजुरी प्राथमिक स्वास्थ्य केन्द्र तथा शव फेला परेका स्थानमा डिसइन्फेक्सन भइरहेको छ।

त्यस्तै कास्कीको याम्दी–बाटुलीचौर, तनहुँको व्यास–५ चैनपुर तथा नवलपरासी पश्चिमका पृथ्वीचन्द्र अस्पताल, परासीस्थित शव सङ्कलन केन्द्र, सुनवल–४ र मुलपानी सामुदायिक वनलगायतका क्षेत्रमा पनि निसंक्रमण कार्य भइरहेको सेनाले जनाएको छ। अन्य प्रभावित क्षेत्रमा स्थानीय तहसँगको समन्वयमा यस्तो अभियान विस्तार गर्ने तयारी छ।