काठमाडौं – सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गर्ने निर्णयमाथि संसदीय छानबिन अघि बढेको छ ।

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले ठेक्का रद्दसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । समितिको बैठकमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र ऊर्जा मन्त्रालयका अधिकारीहरूसँग छलफल भएपछि यस्तो निर्देशन दिइएको हो ।


ADVERTISEMENT

# #


समिति सभापति भरतबहादुर खड्काले आवश्यक कागजात सात दिनभित्र बुझाउन निर्देशन दिँदै प्राप्त विवरणको अध्ययनपछि थप छलफल गरिने बताएका छन् । टेन्डर प्रक्रियाका सबै चरण पूरा भइसकेपछि अन्तिम समयमा सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणको ठेक्का रद्द गरिएको भन्दै समितिमा उजुरी परेको थियो । उजुरीकर्ताले ठेक्का रद्द गर्ने प्रक्रिया त्रुटिपूर्ण रहेको दाबी गरेका छन् । तर विभागका महानिर्देशक रजौरियाले भने ठेक्का रद्द गर्ने निर्णय कानुनसम्मत रहेको जिकिर गरेका छन् ।

आयोजनामार्फत बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका केही क्षेत्रमा करिब एक लाख ८० हजार बिघा जमिनमा सिँचाइ सुविधा पुर्‍याउने तथा २८ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । १३ दशमलव ३ किलोमिटर लामो सुरुङको ब्रेक थ्रु २०८१ वैशाख २६ गते सम्पन्न भए पनि त्यसयता आयोजनाको काम अघि बढ्न सकेको छैन । अब समितिले माग गरेका कागजातको अध्ययनपछि ठेक्का रद्द प्रकरणमा थप निर्णय लिनेछ ।


ADVERTISEMENT

#
#