इटहरी– नेपाल तरुण दल इटहरी उपमहानगरपालिका समितिको आयोजनामा दुई महिने निःशुल्क आँखा तथा दन्त परीक्षण अभियान सुरु भएको छ।
अभियानको पहिलो चरणअन्तर्गत आज इटहरी– १८ को डकाहा स्थित श्री पञ्चायत आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
उक्त शिविर अरविन्द आई केयर, खनारा र बी एन्ड बी डेन्टलको सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू सहित वडाका स्थानीय बासिन्दाले समेत सेवा लिएका छन्। एकैदिनमा २०० भन्दा बढीले आँखा तथा दन्त परीक्षण गराएका छन्।
नेपाल तरुण दल इटहरी नगर समितिका अध्यक्ष अनिश सुवेदीका अनुसार, यस अभियान अन्तर्गत इटहरी उपमहानगरपालिकाका सबै २० वटा वडाहरूमा यस्ता निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। विशेषगरी गरिब, निःशक्त र उपचारमा पहुँच नपुगेका बालबालिकाहरूलाई लक्षित गरी सेवा प्रदान गरिने जनाइएको छ।
नगर समितिका उपाध्यक्ष मनिश चौधरीले शिविरप्रति स्थानीयहरूको उत्साहजनक सहभागिता रहेको बताउँदै भने, “हामीले दुई महिनासम्म अभियान सञ्चालन गर्ने योजना बनाएका छौँ। यसले छुटेका व्यक्तिहरूलाई पनि समयअनुसार सेवा प्राप्त गर्ने अवसर मिल्नेछ। यो अभियानबाट उपचार नपाएका नागरिकहरू लाभान्वित हुनेछन्।”
नेपाल तरुण दल इटहरी नगर समितिले सामाजिक उत्तरदायित्वलाई पहिलो कर्तव्य मानेर यस्ता अभियानहरू सञ्चालन गर्दै आएको जनाएको छ। अभियानलाई थप प्रभावकारी बनाउन विद्यालय, स्वास्थ्य संस्था तथा स्थानीय समुदायसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।