काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ‘अपरेशन सिन्दूर’ मा आतङ्कवादविरुद्ध निर्णायक सफलता पाएको बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रका नाममा सम्बोधन गर्दै उनले पाकिस्तानमा रहेको आतङ्ककारी अड्डामाथि सफल ‘अपरेशन सिन्दूर’ सञ्चालन गरेको घोषणा गरेका हुन् ।


ADVERTISEMENT

# # #


अप्रिल २२ को पहलगाम आतङ्ककारी हमलापछि भारतीय सेनाले मे ६ र ७ मा पाकिस्तानको आतङ्कवादी लुकाउने स्थानहरूमा सटीक हवाई तथा ड्रोन आक्रमण गरी १०० भन्दा बढी आतङ्ककारीहरूलाई मारिएको उनको दाबी छ।

प्रधानमन्त्रीका अनुसार, बहावलपुर र मुरीदके जस्ता स्थानहरूमा रहेका आतङ्कवादी अड्डा ध्वस्त पारिएका छन्। पाकिस्तानको प्रतिक्रियामा गरिएका प्रहारहरूलाई भारतले बलियो वायु रक्षा प्रणालीबाट निस्तेज बनाएको छ। पाकिस्तानले तनाव कम गर्न विश्व समुदायसँग बिन्ती गरेपछि भारतले हाललाई आफ्नो कारबाही स्थगित गरेको जनाइएको छ।

प्रधानमन्त्रीले अपरेशन सिन्दूरलाई भारतको नयाँ सुरक्षा नीति घोषणा गर्दै भने, ‘भारत आतङ्कवादलाई प्रायोजित गर्नेहरू विरुद्ध अब निर्णायक जवाफ दिनेछ, चाहे त्यो आतङ्ककारी होस् वा आतङ्कलाई समर्थन गर्ने राज्य।’

यस्तो छ उनले गरेको सम्बोधनको पूर्णपाठ

मेरा प्यारा देशवासीहरु,

नमस्कार !

विगतका दिनहरुमा, हामी सबैले हाम्रो देशको सामथ्र्य र संयम दुवै देखेका छौं । सबैभन्दा पहिले, भारतीय जनताको तर्फबाट, म भारतका वीर सेना, सशस्त्र बल, हाम्रा गुप्तचर निकायहरु र हाम्रा वैज्ञानिकहरुलाई सलाम गर्दछु । हाम्रा वीर सैनिकहरुले अपरेशन सिन्दूरका उद्देश्यहरु प्राप्त गर्न असीम साहस प्रदर्शन गरे । म उनीहरुको बहादुरी,साहस र पराक्रमलाई नमन गर्दछु । यो वीरता देशका हरेक आमा, हरेक दिदीबहिनी र हरेक चेलीबेटीलाई समर्पित गर्दछु ।

साथीहरु,

अप्रिल २२ मा पहलगाममा आतङ्ककारीहरुले देखाएको बर्बरताले सम्पूर्ण देश र विश्वलाई स्तब्ध बनाएको थियो । धर्मको आधारमा निर्दोष नागरिकहरुको परिवार र उनीहरुका बच्चाहरुको सामु निर्दयी हत्या आतङ्क र क्रूरताको एक विभत्स अनुहार थियो । यो देशको सद्भाव र एकता तोड्ने घृणित प्रयास पनि थियो । मेरो लागि व्यक्तिगत रुपमा यो निकै नै पीडादायी थियो । यो आतङ्कवादी हमला पछि, सम्पूर्ण राष्ट्र, प्रत्येक नागरिक, प्रत्येक समुदाय, प्रत्येक वर्ग, प्रत्येक राजनीतिक दल, एकजुट भएर आतङ्कवाद विरुद्ध कडा कारबाहीको लागि उभिए ।

आतङ्ककारीहरुलाई सखाप पार्न हामीले भारतीय सेनालाइ पूर्ण स्वतन्त्रता दियौं । र आज हरेक आतङ्ककारी, हरेक आतङ्कवादी संगठनलाई हाम्रा दिदीबहिनी र छोरीचेलीहरुको सिन्दूर मेटाउदाको परिणाम के हुन्छ थाहा भएको छ ।

साथीहरु,

अपरेशन सिन्दूर केवल एउटा नाम मात्र होइन, यो देशका करोडौं जनताको भावनाको प्रतिबिम्ब हो । अपरेशन ‘सिन्दूर’ न्यायप्रतिको हाम्रो अखण्ड प्रतिज्ञा हो । मे ६ को अबेर राति र मे ७ को बिहान, सम्पूर्ण विश्वले यो प्रतिज्ञालाई वास्तविकतामा परिणत भएको देख्यो । भारतीय सेनाले पाकिस्तानमा रहेका आतङ्कवादी लुक्ने ठाउँहरु र उनीहरुका तालिम केन्द्रहरुमा बडो सटीकताका साथ आक्रमण गर्यो । भारतले यति ठूलो निर्णय लिन सक्छ भनेर आतङ्ककारीहरुले कहिल्यै कल्पना गरेका थिएनन् । तर जब देश एकजुट हुन्छ, राष्ट्र प्रथमको भावनाले ओतप्रोत हुन्छ र राष्ट्रिय हित सर्वोपरि हुन्छ, तब बलिया निर्णयहरु लिइन्छ र परिणामहरु प्राप्त हुन्छन् । जब भारतको मिसाइल र ड्रोनले पाकिस्तानमा रहेका आतङ्कवादी अड्डाहरुमा आक्रमण गर्यो, आतङ्कवादी संगठनहरुको भवन मात्र नभएर उनीहरुको साहस पनि नराम्रोसँग डगमगाएको थियो । बहावलपुर र मुरीदके जस्ता आतङ्कवादी अड्डाहरु विश्वव्यापी आतङ्कवादका विश्वविद्यालयहरु हुन् ।

विश्वका ठूला आतङ्कवादी हमलाहरु, चाहे त्यो ९/११ होस्, लन्डन ट्युब बम विस्फोट होस्, वा पछिल्ला धेरै दशकहरुमा भारतमा भएका ठूला आतङ्कवादी हमलाहरु हुन्, तिनीहरुको सम्बन्ध कुनै न कुनै रुपमा यी आतङ्कवादी लुक्ने ठाउँहरुसँग जोडिएको छ । आतङ्ककारीहरुले हाम्रा दिदीबहिनीहरुको सिन्दूर मेटाएका थिए र भारतले उनीहरुको आतङ्कवादी मुख्यालय ध्वस्त पारेर प्रतिक्रिया दियो । भारतद्वारा गरिएका यी आक्रमणहरुमा १०० भन्दा बढी खतरनाक आतङ्कवादीहरु मारिएका छन् । धेरै आतङ्कवादी नेताहरु विगत साढे दुई–तीन दशकदेखि पाकिस्तानमा स्वतन्त्र रुपमा घुमिरहेका थिए जसले भारत विरुद्ध षड्यन्त्र रच्थे । भारतले एकै प्रहारमा उनीहरुलाई मारिदियो ।

साथीहरु,

भारतको यो कार्यबाट पाकिस्तान अत्यन्तै निराश र दुःखी भयो । यो अन्यालमा प¥यो र यसै अन्योलबीच उसले अर्को कायरतापूर्ण कार्य गर्यो । आतङ्कवाद विरुद्ध भारतको हमलालाई समर्थन गर्नुको सट्टा पाकिस्तानले भारतमाथि नै आक्रमण गर्न थाल्यो । पाकिस्तानले हाम्रा विद्यालय, कलेज, गुरुद्वारा, मन्दिर र सर्वसाधारणहरुको घरलाई निशाना बनायो । पाकिस्तानले हाम्रो सैन्य अड्डालाई निशाना बनायो । तर यस कार्यमा पाकिस्तानको आफ्नै पर्दाफास भयो । विश्वले देख्यो की कसरी पाकिस्तानका ड्रोन र मिसाइलहरु भारतको अगाडि पराल जस्तै खसे । भारतको बलियो वायु रक्षा प्रणालीले तिनीहरुलाई आकाशमै नष्ट पारिदियो । पाकिस्तानले सीमामा आक्रमणको तयारी गरेको थियो तर भारतले पाकिस्तानको मुटुमा प्रहार गर्यो । भारतका ड्रोन र मिसाइलहरुले सटीकताका साथ आक्रमण गरे । तिनीहरुले पाकिस्तानी वायु सेनाका ती एयरबेसहरुलाई क्षति पुर्याए जसमा पाकिस्तानलाई धेरै गर्व थियो ।

भारतले पहिलो तीन दिनमा नै पाकिस्तानलाई ठूलो क्षति पुर्यायो जुन उसले कहिल्यै कल्पना गरेको थिएन । त्यसैले भारतको आक्रामक कारबाही पछि, पाकिस्तानले भाग्ने उपाय खोज्न थाल्यो । तनाव कम गर्न पाकिस्तान विश्वलाई बिन्ती गरिरहेको थियो । र भारी क्षति बेहोरेपछि, पाकिस्तानी सेनाले मे १० को दिउँसो हाम्रो डीजीएमओलाई सम्पर्क गर्यो । त्यतिन्जेलसम्म हामीले ठूलो मात्रामा आतङ्कवादको पूर्वाधार नष्ट गरिसकेका थियौं । आतङ्ककारीहरुलाई समाप्त पारिसकेका थियौं । हामीले पाकिस्तानको मुटुमा स्थापित आतङकवादी अड्डाहरु नष्ट गरिसकेका थियौं । त्यसकारण, जब पाकिस्तानले अपील गर्यो र भन्यो कि यो अब कुनै पनि प्रकारको आतङ्कवादी गतिविधि वा सैन्य दुस्साहसमा संलग्न हुनेछैन, भारतले यसमाथि विचार गर्यो ।

र म फेरी पनि भन्दैछु, हामीले पाकिस्तानको आतङ्क र सैन्य अखडाहरु विरुद्धको हाम्रो जवाफी कारबाही हाललाई स्थगित गरेका छौं । आगामी दिनहरुमा हामी पाकिस्तानको प्रत्येक कदमलाई पाकिस्तानले कस्तो रवैया अपनाउनेछ भन्ने मापदण्डमा मापन गर्नेछौं । साथीहरु, भारतका तीनवटै सेनाहरु—हाम्रो वायुसेना, हाम्रो सेना र हाम्रो नौसेना, हाम्रो सीमा सुरक्षा बल (बीएसएफ), भारतका अर्धसैनिक बलहरु, निरन्तर सतर्क अवस्थामा छन् । सर्जिकल स्ट्राइक र एयर स्ट्राइकपछि अब अपरेशन सिन्दूर आतङ्कवादविरुद्ध भारतको नीति बनेको छ ।

अपरेशन सिन्दूरले हाम्रो आतङ्कविरुद्धको लडाइँमा नयाँ मापदण्ड स्थापना गरेको छ र नयाँ मानक तय गर्नुका साथै न्यु नर्मल समेत स्थापना गरेको छ । पहिलो, यदि भारतमाथि आतङ्कवादी आक्रमण भयो भने त्यसको उचित जवाफ दिइनेछ । हामी हाम्रो सर्तहरुमा मात्र उचित जवाफ दिनेछौँ । हरेक ती ठाउँमा गएर हामी कडा कारबाही गर्नेछौं जहाँबाट आतङ्कवाद मौलाउँछ । दोस्रो, भारतले कुनै पनि किसिमको न्युक्लियर ब्ल्याकमेल सहने छैन । न्युक्लियर ब्ल्याकमेलको आडमा विकास गरिएका आतङ्कवादी लुक्ने ठाउँहरुमा भारतले सटीक र निर्णायक रुपमा प्रहार गर्नेछ । तेस्रो, हामी आतङकवादलाई सहयोग गर्ने सरकार र आतङ्कवादीका योजनाकारहरुबीच कुनै भिन्नता गर्ने छैनौँ । अपरेशन सिन्दूरका दौरान जब शीर्ष पाकिस्तानी सेनाका अधिकारीहरु मारिएका आतङ्कवादीहरुलाई बिदाइ गर्न आए तब संसारले एकपटक फेरी पाकिस्तानको घीनलाग्दो अनुहार देख्यो ।

यो राज्यद्वारा सहयोग गरिएको आतङ्कवादको बलियो प्रमाण हो । हामी भारत र आफ्नो नागरिकहरुलाई कुनै पनि खतराबाट जोगाउन निरन्तर निर्णायक कदम चालिरहनेछौँ । साथीहरु, हामीले प्रत्येकपटक युद्धभूमिमा पाकिस्तानलाई पराजित गरेका छौँ । र यसपटक अपरेशन सिन्दूरले एक नयाँ आयाम थपेको छ । हामीले मरुभूमि र पहाडहरुमा आफ्नो क्षमता प्रदर्शन गरेका छौँ र न्यु एज वारफेयरमा पनि आफ्नो श्रेष्ठता प्रमाणित गरेका छौँ । यस अपरेसनका क्रममा ‘मेड इन इन्डिया’ हतियारहरुको विश्वासनीयता पनि प्रमाणित भएको छ । आज संसार देखिरहेको छ की २१औँ शताब्दीको वारफेयरमा ‘मेड इन इन्डिया’ रक्षा उपकरणहरुको समय आइसकेको छ । साथीहरु, सबै प्रकारका आतङ्कवाद विरुद्ध हाम्रो एकता हाम्रो सबैभन्दा ठूलो शक्ति हो । यो निश्चित रुपमा युद्धको युग होइन, तर यो आतङ्कवादको युग पनि होइन । आतङ्कवाद विरुद्ध शून्य सहनशीलता नै राम्रो संसारको ग्यारेन्टी हो ।

साथीहरु,

जसरी पाकिस्तानी सेना, पाकिस्तान सरकारले आतङ्कवादलाई प्रोत्साहन गरिरहेको छ, त्यसले एक दिन पाकिस्तानलाई नै समाप्त पार्नेछ । यदि पाकिस्तान जिउन चाहन्छ भने उसले आफ्नो आतङ्कवादी पूर्वाधारलाई नष्ट गर्नुपर्नेछ । यसबाहेक शान्तिको अर्को कुनै बाटो छैन । भारतको अडान एकदम स्पष्ट छ … आतङ्क र वार्ता सँगै जान सक्दैनन् … आतङ्क र व्यापार सँगै जान सक्दैनन् …. पानी र रगत सँगै बग्न सक्दैनन् । आज म विश्व समुदायलाई पनि भन्न चाहन्छु की हाम्रो घोषित नीति यस्तो रहेको छ, यदि पाकिस्तानसँग वार्ता हुन्छ भने त्यो केवल आतङ्कवादबारे हुनेछ, र यदि पाकिस्तानसँग वार्ता हुन्छ भने त्यो केवल पाकिस्तान अधिकृत कश्मीर (पीओके) का बारेमा हुनेछ । प्रिय देशवासीहरु, आज बुद्ध पूर्णिमा हो ।

भगवान बुद्धले हामीलाई शान्तिको मार्ग देखाउनुभएको छ । शान्तिको मार्ग पनि शक्ति हुँदै जान्छ । मानवता शान्ति र समृद्धितर्फ अघि बढ्नुपर्छ । प्रत्येक भारतीयले शान्तिपूर्वक बाँच्न सकुन् र उनीहरुले विकसित भारतको सपना पूरा गर्न सकुन् । यसका लागि भारत शक्तिशाली हुनु अत्यावश्यक छ । र आवश्यक पर्दा यो शक्ति प्रयोग गर्नु पनि जरुरी छ । पछिल्ला केही दिनहरुमा भारतले यही काम गरेको छ । म फेरी एकपटक भारतीय सेना र सशस्त्र बलहरुलाई सलाम गर्दछु । प्रत्येक भारतीयको साहस र भारतवासीहरुको एकताको शपथ तथा संकल्पलाई म नमन गर्दछु ।

धन्यवाद,

भारत माता की जय ! ! !

भारत माता की जय ! ! !

भारत माता की जय ! ! !