काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण अवरुद्ध बनेको बीपी राजमार्ग १६ घण्टापछि पूर्ण रूपमा सञ्चालनमा आएको छ।
सोमबार राति रोशी खोलामा आएको बाढीले रोशी गाउँपालिका–१२ स्थित माप्ती क्षेत्रको डाइभर्सन बगाएपछि राजमार्ग अवरुद्ध भएको थियो। सडकमा ठूलो क्षति पुगेपछि राजमार्ग खोल्न समय लागेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी मीनबहादुर घलेले जानकारी दिए।
प्रहरी र स्थानीयवासीको पहलमा आज बिहानदेखि सुरु गरिएको मर्मत र उद्धार कार्यपछि राजमार्गलाई पुनः दुबै तर्फ सञ्चालनमा ल्याइएको हो। गत असोजको बाढीपछि बनाइएको अस्थायी डाइभर्सन पूर्ण रूपमा क्षतिग्रस्त भएपछि राजमार्ग बन्द भएको थियो।
प्रहरीले घटनास्थलमा फसेका १७ यात्रुको सकुशल उद्धार गरेको छ। यता, सोमबार साँझ पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा खोलामा बगेर बेपत्ता भएकी ३३ वर्षीया रेनुका गिरीको खोजी कार्य आज बिहानदेखि पुनः सुरु गरिएको छ। नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली परिचालित गरिएको छ।
सोमबारको अविरल वर्षाले सो क्षेत्र डुबानमा परेका छन् भने बाढीका कारण केही कृषियोग्य जमिनमा समेत क्षति पुगेको छ।