काठमाडौँ – सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त हुने विश्वास व्यक्त गरेका छन् ।


ADVERTISEMENT


बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै मन्त्री गुरुङले गभर्नर नियुक्तिका लागि पुरानो सिफारिस समिति विघटन गरी नयाँ सिफारिस समिति गठन भएकाले अब दुई–चार दिनमै नयाँ गभर्नर नियुक्त हुने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले चाँडो भन्दा चाँडो नियुक्त सम्पन्न गर्न नयाँ सिफारिस समिति गठन भएकाले अव ढिलाई नहुने जिकिर गरे । उनले भने, ‘चाँडो भन्दा चाँडो गभर्नरको नियुक्ति गर्नका लागि हामीले सिफारिस समिति पुनर्गठन गरेका छौँ । अब तलमाथि नभईकन दुईचार दिनभित्र हामीले नयाँ गभर्नर पाउँछौँ भन्ने आशा गरेका छौँ ।’

त्यस्तै प्रवक्ता गुरुङले जलवायु परिवर्तनले नेपालमा पारेको असरका बारेमा विश्वसामू उजागर गर्न सगरमाथा सम्वादको आयोजना गरिएको जानकारी दिए । जलवायु परिवर्तनबाट देखिएका समस्या सामनाका साथै यसलाई न्यूनीकरण गर्न साझा प्रतिवद्धता आवश्यक देखिएको उनले बताए ।

त्यस्तै बैशाख ३१ गते बसेको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै प्रवक्ता गुरुङले नेपाल कृषि अनुसन्धान परिषद्को पुनसंरचना गर्ने निर्णय भएको जानकारी दिए । यसका लािग गोविन्दराज पोखरेलको संयोजकत्वमा इश्वरी कडरिया र डा यज्ञ गजाधर खड्का रहेको उच्चस्तरीय पुनसंरचना समिति गठन गरिएको उनले बताए ।

बैठकले नेपाल प्रहरीका बरिष्ठ नायव निरिक्षकहरुको तलबमान तथा ग्रेड समायोजन गर्ने, सहकारी नियमन प्राधिकरणको आर्थिक वर्ष २०८१/८२ को लागि अधिकृतस्तरको ३१ पदको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए ।

मन्त्रिपरिषद्ले दमक भ्यू टावर हाललाई शुल्क लिइ सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ भने औद्योगिक सम्पतीसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा प्रस्तुत गर्न समेत स्वीकृति दिएको छ ।