चितवन– एक पूर्व सैनिकले आज धारिलो हतियार प्रहार गरी दुई बालबालिकाको हत्या गरी आफूलेसमेत आत्महत्याको प्रयास गरेका छन् ।
भरतपुर महानगरपालिका–२५ किसान चोक नजिक घर भएका पूर्व सैनिक ४२ वर्षीय लीलाराज गिरीले धारिलो हतियार प्रहार गरी भतिजो र आफ्नै छोरीको हत्या गरेका हुन् ।
उनले दुई जनालाई आक्रमणपछि आत्महत्याको प्रयास गरेका थिए । बिहान विद्यालय जाने तयारी गरेका बालबालिकालाई उनले आक्रमण गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार गिरीले आफ्नै छोरी सात वर्षीया प्रभा गिरी र दाजु दया गिरीका पाँच वर्षीय छोरा सजन गिरीलाई खुर्पा प्रहार गरेका थिए । त्यसपश्चात् उनले खुर्पा आफँैमाथि प्रहार गरेको उनले जानकारी दिए ।
घटनालगत्तै तीनै जनालाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याइएकामा दुई बालबालिकाको मृत्यु भएको र गिरीको अवस्था गम्भीर रहेको उनले जानकारी दिए।
निज गिरी पूर्वसैनिक रहेको र मानसिक सन्तुलन ठीक नभएका अवस्थामा घटना गराएको प्रारम्भिक रुपमा बुझिएको पुरीले जानकारी दिए। घटना आज बिहान ९ः४५ बजेको समयमा भएको हो ।