काठमाडौँ – शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।
आइतबार बसेको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले उक्त विधेयक पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उक्त प्रस्तावलाई सभामुख देवराज घिमिरेले निर्णयार्थ प्रस्तुत गरेका थिए । त्यसअघि बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको उक्त विधेयकमाथि छलफल भएको थियो ।
छलफलका उठेका प्रश्नको जवाफ दिदै मन्त्री पन्तले विधेयक पारित हुनु सुदूरपश्चिमका लागि मात्रै नभइ देशका लागि उपलब्धि भएको बताए । विधेयक नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रको महत्वपूर्ण परिवर्तनको कोशेढुङ्गा भएको उनले बताए । मन्त्री पन्तले काठमाडौंदेखि कैलाली र कञ्चनपुरलाई नाघेर उपचारका लागि भारतको दिल्ली जाने लर्को विश्वविद्यालयको स्थापनापछि कैलालीको गेटामा रोकिने जिकिर गरे ।
स्वास्थ्य जनशक्ति स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने उद्देश्यले सरकारले उक्त विधेयक ल्याएको थियो । विधेयकमा नेपाल सरकारले चिकित्सा शिक्षा अध्ययन अध्यापन गराउनको लागि चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ । विधेयक पारित भएसंगै कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचनामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने बाटो खुला भएको छ ।