काठमाडौँ – नेकपा एमालेका सचिव योगेश भट्टराईले ८४ को निर्वाचन अघिसम्म वर्तमान गठबन्धन कायमै रहने बताएका छन् ।


ADVERTISEMENT


मंगलबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले कांग्रेस–एमालेको सरकार बनाउनुको उदेश्य अझै पुरा नभएकाले ८४ को निर्वाचनसम्म वर्तमान गठबन्धन कायमै रहने बताएका हुन् । कांग्रेस–एमाले ठूलो पार्टी भएकाले गठबन्धनमा अहिलेकाहीँ अनुकुलता र प्रतिकुलता हुने गरेको भन्दै दुई दलले समान हिस्सेदारी खोज्नु स्वभाविक भएको उनले बताए ।


ADVERTISEMENT

# # #


उनले भने, ‘जुन उद्देश्य र कामका लागि नेपाली काँग्रेस र एमालेको सरकार बन्यो, त्यो काम अझैँ पूरा भएको छैन । त्यसकारण हामी २०८४ को निर्वाचनभन्दा अघिसम्म हामी सँगै जान्छौँ ।’

भट्टराईले बर्तमान सरकार गलत ट्रयाकमा नरहेपनि गति बढाउन भने नसकेको जिकिर गरे । सरकारको आलोचना हुनु स्वभाविक भएको भन्दै उनले सत्तारुढ दलकै नेताले गर्ने टिप्पणी र आलोचनाले दुई पार्टीबीचको सम्बन्ध नविग्रियोस भन्नेमा सचेत हुनुपर्ने बताए । ‘सबैले निर्णयमा आफ्नो हिस्सेदारी खोज्छ ।’ उनले भने, ‘एउटा ठूलो दल र अन्य साना दल भएको भए ठूलो दलको हिस्सेदारी ज्यादा हुन्थ्यो । समान दल भएकाले हिस्सेदारी समान खोजिन्छ ।’

उनले विभिन्न निकायका प्रमुख नियुक्त गर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राखे । त्यस्तै भट्टराईले संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने आवश्यकता नरहेको भन्दै एजेण्डामा राष्ट्रिय सहमति कायम हुनुपर्ने जिकिर गरे ।

यस्तै सचिव भट्टराईले गभर्नर नियुक्तिको विषयले सत्तारुढ दलबीच फाटो नआउने जिकिर गरे । उनले भने, ‘गभर्नर नियुक्तिमा जुन ढंगले सार्वजनिक बहस, टिप्पणी भए, त्यो राम्रो भएन भन्ने लाग्छ । त्यो तहसम्म जानुभन्दा पहिले नै दुई दलले सम्हालिसक्नुपर्ने थियो । त्यसमा केही कमजोरी भएकै छ ।’ यद्दपि गभर्नर नियुक्तिको विषयले चाँडै निष्कर्ष पाउने उनले अपेक्षा गरे ।