काठमाडौँ – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार अर्थ मन्त्रालयमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको अध्यक्षतामा बसेको समितिको बैठकले डा. विश्व पौडेलसहित तीनजनाको नाम सिफारिस गरेको हो ।
गभर्नरका लागि सिफारिस हुनेमा पहिलो नम्बरमा पौडेल रहेका छन् । यस्तै दोस्रो नम्बरमा कामु गभर्नर निलम ढुंगाना तिम्सिना र तेस्रो नम्बरमा पूर्व सचिव दिनेश भट्टराई सिफारिसमा परेका छन् । तीनजनामध्ये एकजना नेपाल राष्ट्र बैँकका डेपुटी गभर्नर हुनेपर्ने प्रावधान अनुसार डा. निलम ढुंगाना तिम्सिनाको नाम सिफारिस गरिएको हो ।
गभर्नरका लागि पहिलो नम्बरमा सिफारिस पौडेल नेपाली काँग्रेसका नेता हुन् । जसले गभर्नर बन्न केही दिन अघि मात्रै काँग्रेस सदस्यबाट राजीनामा दिएका थिए । तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको पदावधि गत चैत्र अन्तिम साता सकिए पनि एमाले र काँग्रेसबीचको भागबण्डाको किचलोका कारण नयाँ गभर्नरको नियुक्ति हुन सकेको छैन।
यसअघि काँग्रेसले सिफारिस गरेका पूर्व मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीलाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्माओली तयार नदेखिएपछि काँग्रसले उनको विकल्पमा पौडेलको नाम अघि सारेको थियो । त्यसका लागि गभर्नर सिफारिस समितिका रहेका पौडेलले समितिबाट राजीनामा दिएका थिए ।
तर, उनीप्रति पनि प्रधानमन्त्री ओली सकारात्मक नदेखिए पनि काँग्रेस सभापति देउवाकै अडानका कारण पौडेल सिफारिसमा परेका हुन् ।