–दिपक न्यौपाने
काठमाडौँ– कुनै समय थियो, जब हामीले हाम्रो बुवाआमाले बोक्न थालेको रातो झन्डा, कालो रातका संघर्ष र टुहुरो लोकतन्त्रको न्यानो उज्यालोका सपनालाई निरन्तरता दिएका थियौं। हजुरबुवाले भूमिगत नेताहरूलाई सेल्टर दिनुभयो, बुवाले आफ्नो जवानी पार्टी संगठनमा खन्याउनु भयो, अनि हामी — तेस्रो पुस्ताका कार्यकर्ताहरू — जनसंगठनहरू, विद्यार्थी राजनीति र सामाजिक अभियानहरूमा सक्रिय भयौं।
तर अब, म आफूलाई चौथो पुस्ताको आँखाबाट हेर्छु — जुन पुस्ता जेन जीका प्रतिनिधिहरू हुन्। यो पुस्ता डिजिटल युगसँगै हुर्किएको, सूचना र विकल्पहरूमा समृद्ध, सामाजिक न्यायप्रति सचेत अनि व्यवहारिक मूल्याङ्कन गर्ने पुस्ता हो। यिनै युवा आज एमालेप्रति मौन छन्, निराश छन्, र अझै गम्भीर कुरा के भने, पार्टीमा देखिएको अपारदर्शिता र अवसरवादप्रति विद्रोहको मनस्थितिमा छन्।
संगठनसँगको दूरी : जब जन एकातिर र संगठन अर्कोतिर
नेकपा एमालेका २३ वटा जनसंगठनहरू छन् — अनेरास्ववियु, युवा संघ, खेलकुद महासंघ, जिफन्ट, प्रेस चौतारी, अनेमसंघ लगायत। यी संगठनहरू कुनै समय कार्यकर्ता निर्माणको स्कूल थिए। तर आज, ती संगठनहरू केही सीमित व्यक्तिहरूको गुटको नियन्त्रणमा पुगेका छन्, जसको उद्देश्य जनप्रतिनिधित्व हैन, संगठन कब्जा र त्यसमार्फत पार्टी कब्जा हो।
लोकतान्त्रिक पद्धतिबाट नेतृत्व निर्माणको सिद्धान्त केवल भाषणमा सीमित छ। निर्वाचन कहिल्यै निष्पक्ष हुँदैन, कार्यकर्ता प्रतिस्पर्धाबाट बञ्चित गरिन्छ, नेताले रुचाएको आधारमा टाउको सिफारिस हुन्छ। त्यसैले कार्यकर्ताबीच यो भनाइ सामान्य बनेको छ — “जन एकातिर, संगठन अर्कोतिर”।
पछिल्लो समय अनेरास्ववियु स्ववियु निर्वाचनमा देखिएको अनियमितता, अपारदर्शिता र गुटगत लडाइँले दोस्रो हुन पुग्यो र यसले गम्भीर बिचलनको अवस्था उजागर गरिसकेको छ। अहिले चलिरहेको युवा संघको महाधिवेशन र लगत्तै हुदै गरेको अनेरास्ववियुको महाधिवेशनमा लोकतान्त्रिक अभ्यास हुन्छ कि सत्ता र शक्तिको साटासाट, त्यो हेर्न बाँकी छ।
चौथो पुस्ता र प्रश्नहरूको सुनामी
आजको युवा पुस्ता नेताको फोटो हेरेर श्रद्धा गर्दैन। उनीहरूलाई नेताको विगतभन्दा वर्तमानको व्यवहार चासोको विषय हुन्छ। त्यसैले प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका जाँदा अमेरिकास्थित नेपालीहरूबाट देखिएको विरोधको पृष्ठभूमिमा एमाले कार्यकर्ताका छोराछोरीहरू नै थिए भन्ने कुराले हामीले बुझ्नुपर्ने धेरै कुरा छन्।
यसले के देखाउँछ भने, अब प्रश्न उठाउने पुस्ता मौन रहनेवाला छैन। चौथो पुस्ता स्पष्टसँग नेताबाट सोध्न सक्छ — “तपाईंहरूले हामीलाई शिक्षा दियौं, संगठनको नाममा सडकमा उतार्नुभयो, तर तपाईंहरूले बनाएको पार्टीले देशका निम्ति के दियो ? तपाईँका नेतृत्वमा सरकार हुँदा जनताले के पाए ?”
यी प्रश्नहरू केवल वैदेशिक भूमिमा रहेका युवाहरूले उठाएका होइनन्। नेपालको सहरी मध्यम वर्गीय परिवारमा हुर्किएका युवा पुस्ताले पनि आज यही प्रश्न उठाइरहेका छन्। पार्टीप्रति मायामा हुर्किए पनि व्यवहारमा गुटबन्दी, ढोके संस्कार, अवसरवाद र चाकडीले उनीहरूलाई धकेलिरहेको छ।
एमाले : संगठन र शक्ति बीचको द्वन्द्व
एमालेको संगठन सुदृढ छ भन्ने कुरा धेरैले स्वीकार गर्छन्। वडा तहका उपभोक्ता समितिदेखि स्कुल व्यवस्थापन समिति, रेडक्रस, स्काउटदेखि एनजिओहरूमा एमाले निकट कार्यकर्ताहरू प्रभावशाली छन्। तर त्यही संगठनको बलमा नेताहरू सत्तामा पुगेपछि संगठनलाई भुलिने क्रम जारी छ।
आज सत्ता नजिक रहेका नेताहरू आफ्ना वरिपरिका गुटका मानिसहरूलाई पद, टिकट र सिफारिस दिन व्यस्त छन्। समाजमा अगुवाइ गर्ने, अध्ययनशील, सिद्धान्तमा अडिग कार्यकर्ताहरू गुमनाम भइरहेका छन्। टिकट पाउने मापदण्ड — “को कति बेला नेताको सल्लाहकार भयो?”, “कसले कति पटक खुवायो?”, “कसले नेताको विपक्षीको कुरा लगायोरु” जस्ता बनेको छ।
यसले गर्दा चौथो पुस्ताका प्रतिभाशाली, शिक्षित, जनतासँग जोडिएका कार्यकर्ता संगठन र पार्टीसँग जोडिन नचाहने अवस्थामा पुगेका छन्।
आन्तरिक लोकतन्त्रको क्षय र नेतृत्वको गम्भीर जिम्मेवारी
नेकपा एमालेको इतिहासमा लोकतान्त्रिक अभ्यासको चर्चा थुप्रै पटक गरिएको छ। सातौं महाधिवेशनमा केपी शर्मा ओलीले उठाएको आन्तरिक लोकतान्त्रिककरणको प्रस्ताव आठौं महाधिवेशनमा व्यवहारमा आउन थाल्यो। जनताको बहुदलीय जनवादको अवधारणासहित एमाले नेपाली समाजमा स्थापित हुँदै गयो।
तर पार्टी एकता (नेकपा) र पुनः विभाजनपछि आन्तरिक लोकतन्त्रमा गम्भीर विचलन देखिन थालेको छ। दसौं महाधिवेशनमा नेतृत्व चयन प्रक्रिया, प्रदेश अधिवेशनहरूमा देखिएको पक्षपात र टिकडम, अनि जनसंगठनको कब्जा गर्ने प्रवृत्तिले एमालेभित्रै असन्तोष बढेको छ।
गणेश प्रवृत्तिहरू, नवसामन्ती सोच, गुट र चाकडीको राजनीति — यी सबैले पार्टीलाई गम्भीर संकटमा पुर्याइरहेका छन्। जब नेतृत्व आलोचना सुन्न चाहँदैन, र समर्थन मात्र खोज्छ, त्यहाँ संगठनको आत्मा मर्छ।
युवा पुस्तालाई बाँध्ने कि विद्रोह निम्त्याउने ?
महासचिव शंकर पोखरेलले एउटा कार्यक्रममा भनेका थिए, यदि चौथो पुस्ताले आफूलाई प्रतिनिधित्व भएको अनुभूति गरेन, भने त्यो पुस्ता पार्टीमा जोडिने छैन। यदि जुका प्रवृत्तिका कार्यकर्ताहरूले संगठन कब्जा गर्दै गए, अवसरवाद बढ्दै गयो, र नेतृत्व मौन रहिरह्यो भने एमाले चौथो पुस्ताबाटै कमजोर बन्नेछ।
अहिले पनि समय छ। चौथो पुस्तालाई सम्बोधन गरौं, लोकतान्त्रिक अभ्यासलाई सशक्त बनाऔं, संगठनमा प्रतिस्पर्धा र पारदर्शिता ल्याऔं। नेताले रुचाएको हैन, कार्यकर्ताले मन पराएको नेतृत्व आउने सुनिश्चितता गरौं।
हामी — पार्टीप्रति निष्ठावान, तर प्रश्न उठाउने कार्यकर्ताहरू — अझै आशावादी छौं। तर त्यो आशा टिकाइराख्न नेताहरूले व्यवहार बदल्नुपर्नेछ। नेतृत्वको चाकडीभन्दा विचार र योगदानले निर्णय हुने पार्टी बनाउने हो भने मात्र चौथो पुस्ता पार्टीमा जोडिनेछ। नत्र भने, इतिहासले फेरि अर्को पाना पल्टाउनेछ — जसमा शायद नेकपा एमाले पश्चिम बङ्गालको बाटोमा नलाग्ला भन्न सकिन्न।