काठमाडौँ – आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको स्कल्याण्ड सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सविरुद्ध पहिले बलिङ गर्ने भएको छ । स्कटल्याण्डको डण्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेदरल्याण्डले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गर्ने भएको हो ।
खेल नेपाली समय अनुसार ३ः४५ बजे सुरु हुनेछ । आज नेपाली टोलीमा एउटा परिवर्तन गरिएको छ । मध्यम गतिबा बलर रिजन ढकालको स्थानमा बायाँ हाने स्पिनर ललित राजवंशीलाई मौका दिइएको छ ।
यसअघि पहिलो खेलमा घरेलू टोली स्कटल्याण्डविरुद्ध १ रनको रोमाञ्चक जित हात पारेको नेपाल लगातार दोस्रो जित निकाल्ने दाउमा रहेको छ ।
नेपालको प्लेइङ-११
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आशिफ शेख (विकेट किपर), कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने र ललित राजवंशी ।
८ राष्ट्र सहभागी लिग–२ मा नेपाल कमजोर अवस्थामा रहेको छ । हालसम्म १३ खेल खेलेको नेपालले ३ खेलमा मात्रै जित हात पारेको छ भने ८ खेलमा हार व्यहोरेको छ । यस्तै २ खेल अनिर्णित हुँदा र ८ अंकसहित अंकतालिकाको छैटौँ स्थानमा रहेको छ । यता १७ खेल खेलेको स्कटल्याण्ड ९ जित ६ हार र २ अनिर्णितसहित २० अंकका साथ चौथो स्थानमा रहेको छ ।
यस्तै नेदरल्याण्डले २० खेलमा १२ जित, ६ हार र २ अनिर्णितसहित २६ अंकका साथ दोस्रो स्थानमा रहेको छ । अमेरिकाले २० खेलमा १४ जित र ६ हारसहित २८ अंकका साथ तालिकाको शीर्ष स्थानमा रहेको छ ।