काठमाडौँ – निर्वाचन आयोग, नेपालले आगामी उपनिर्वाचनको तयारीस्वरूप मतदाता नामावलीमा नाम छुटेकालाई यथाशीघ्र नाम दर्ता गराउन आह्वान गरेको छ।
निर्वाचन आयोगका सहायक प्रवक्ता दुर्गा प्रसाद चालिसेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन मिति घोषणा भएपछि मतदाता नामावली दर्ता प्रक्रिया रोकिने कानुनी व्यवस्था रहेको उल्लेख गर्दै त्यसअघि नै नाम दर्ता गराइसक्न आग्रह गरेका हुन्।
हालै प्रधानमन्त्री केपी शर्मा ओली र निर्वाचन आयोगका पदाधिकारीहरूबीच उपनिर्वाचनको मिति निर्धारणबारे छलफल भएको थियो। सो छलफलमा विशेषगरी प्रतिनिधिसभा अन्तर्गत रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेश अन्तर्गत मनाङ क्षेत्र नं. १ (ख) मा कात्तिक दोस्रो सातातिर निर्वाचन गर्नेबारे परामर्श भएको थियो।
रुपन्देही ३ मा राप्रपाका सांसद दीपक बोहराको निधन तथा मनाङ १ (ख) मा प्रदेशसभा सदस्य दीपक मनाङे जेल परेपछि पद रिक्त भएका हुन्। साथै, देशका विभिन्न स्थानीय तहमा एक दर्जनभन्दा बढी वडाध्यक्ष पदहरू पनि रिक्त रहेका छन्।
निर्वाचन आयोगले लोकतान्त्रिक अभ्यासमा नागरिकको सक्रिय सहभागिता सुनिश्चित गर्न सबै योग्य व्यक्तिहरूलाई समयमा नै मतदाता नामावलीमा नाम दर्ता गराउन हार्दिक अनुरोध गरेको छ।