काठमाडौँ– पत्रकार दिलभूषण पाठक आज काठमाडौँ जिल्ला अदालतमा हाजिर भएका छन्। विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा उनी आफैँ अदालतमा हाजिर भएका हुन्।
पाठक अदालतमा हाजिर भएसँगै, न्यायाधीश खेमराज भट्टको इजलासमा बयान र थुनछेक बहस हुने तय भएको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिएका छन्।
उनका अनुसार साइबर ब्युरोको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले गत सोमबार उनीविरुद्ध मुद्दा दायर गरेको थियो।
‘साइबर ब्युरो ५९’ नामक जाहेरीका आधारमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत पाठकविरुद्ध एक लाख रुपैयाँ जरिवाना वा पाँच वर्षसम्मको कारावास, वा दुवै सजायको माग गरिएको छ।
निवेदकले पाठक विरुद्ध घृणा र द्वेष फैलाएर चरित्रहत्या गरेको आरोप लगाउँदै साइबर ब्युरोमा उजुरी गरेका थिए। निवेदकको भनाइअनुसार पाठकले ‘हिल्टन होटलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा। आरजु राणा पुत्र जयवीर देउवाको पैसा भन्ने शीर्षक राखेर तस्बिर सहित सामग्री प्रसारण गरेका थिए, जसबाट उनले आफ्ना इज्जत र प्रतिष्ठामा हानी पुर्याएको दाबी गरिएको छ।
अभियोगपत्रमा, उक्त सामग्री प्रसारण गर्न प्रयोग भएका सामग्री जफत गर्न र पीडितलाई उचित क्षतिपूर्ति दिन पनि माग गरिएको छ।





























































