ललितपुर । महालक्ष्मी नगरपालिका वडा नम्बर ७ ले आर्थिक वर्ष ८८२०८२र८३ को वार्षिक बुलेटिन सार्वजनिक गर्दै स्थानीयवासी, सरोकारवाला तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा वडाको प्रगति, आगामी योजना तथा स्थानीय नागरिकका गुनासो र सुझावमाथि खुला छलफल गरिएको थियो।


ADVERTISEMENT



वडा नम्बर ७ का अध्यक्ष बाबुराजा महर्जनले वार्षिक बुलेटिन सार्वजनिक गर्दै चालु आर्थिक वर्षमा वडाले गरेका काम तथा प्रगतिका विवरण प्रस्तुत गर्नुभएको थियो। उहाँले जनताको गुनासो, सुझाव र आवश्यकतालाई प्रत्यक्ष रूपमा सम्बोधन गर्दै आगामी दिनमा वडा नम्बर ७ लाई देशकै नमुना वडा बनाउने अभियानमा आफूहरू प्रतिबद्ध रहेको बताउनुभयो।
अध्यक्ष महर्जनले वडाको समग्र विकासका लागि स्वास्थ्य, शिक्षा, यातायात, सुरक्षा तथा सरसफाइलाई प्राथमिकतामा राखेर काम भइरहेको उल्लेख गर्नुभयो। सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन विभिन्न स्थानमा सीसी क्यामेरा जडान गर्ने, बेवारिसे कुकुरलाई रेबिजविरुद्धको खोप लगाउने तथा घरपालुवा कुकुरलाई अनिवार्य रूपमा वडामा दर्ता गर्ने व्यवस्था मिलाउने योजना रहेको उहाँले जानकारी दिनुभयो।


ADVERTISEMENT

# # #



त्यस्तै, ढल तथा कुलो व्यवस्थापन, सार्वजनिक जग्गाको संरक्षण र सदुपयोग, शारीरिक व्यायामका लागि आवश्यक पूर्वाधार निर्माण, विद्यालयहरूको स्तरोन्नति, फोहोरमैला व्यवस्थापन, सडकको स्तरोन्नति, खानेपानी व्यवस्थापन तथा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न सहजीकरण गर्ने विषयलाई पनि वडाले विशेष प्राथमिकतामा राखेको अध्यक्ष महर्जनले बताउनुभयो।
सार्वजनिक सुनुवाइका क्रममा स्थानीयवासी, सरोकारवाला तथा विपक्षी दलका नेताहरूले वडाको विकास, सेवा प्रवाह र आगामी योजनाबारे आफ्ना सुझाव तथा गुनासा राखेका थिए। अध्यक्ष महर्जनले उठाइएका जायज गुनासो र सुझावलाई गम्भीरतापूर्वक ग्रहण गर्दै नागरिकको अपेक्षाअनुसार सेवा प्रवाह र विकास निर्माणका कामलाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता व्यक्त गर्नुभयो।


उहाँले “वडाको विकास जनप्रतिनिधिको मात्र जिम्मेवारी होइन, स्थानीयवासी, सरोकारवाला र सबै राजनीतिक दलको साझा सहकार्यबाट मात्र वडा नमुना बन्न सक्छ,” भन्दै आगामी दिनमा अझ सशक्त, व्यवस्थित, सुरक्षित र समृद्ध वडा निर्माणका लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।
कार्यक्रममा वडा सदस्यहरू पूर्णलक्ष्मी श्रेष्ठ, विकेन्द्र बानियाँ, विराट सिलवाल, रमा रम्तेल, वडा सचिव सीता न्यौपाने लगायत पत्रकार, प्रहरी, बुद्धिजीवी, स्थानीयवासी तथा विभिन्न क्षेत्रका सरोकारवालाहरूको बाक्लो उपस्थिति रहेको थियो।
वार्षिक बुलेटिन सार्वजनिकसँगै सम्पन्न सार्वजनिक सुनुवाइलाई वडा नम्बर ७ ले जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद, पारदर्शिता र जवाफदेहितालाई बलियो बनाउने महत्वपूर्ण पहलका रूपमा लिएको छ।