काठमाडौँ–स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएकाहरूले अब पहिलेको तुलनामा दोब्बर उपचार सेवा प्राप्त गर्ने बताएका छन्।
सामाजिक सञ्जालमार्फत जानकारी दिदैँ उनले ८ वटा जटिल रोगका बिरामीले हाल पाइरहेको एक लाख उपचारमा थप एक लाख थप गरी दुई लाख सुविधा प्राप्त गर्न सक्ने बताएका हुन् ।
साउन १ गतेदेखि लागू हुने सो सेवाअन्र्तगत बिरामीले क्यान्सर, मुटु, मृगौला, टाउको चोट (हेड इन्जुरी), मेरुदण्डको चोट (स्पाइनल इन्जुरी), सिकलसेल एनिमिया, पार्किन्सोनिजम र अल्जाइमर जस्ता ८ प्रकारका जटिल रोगहरूको उपचारमा बीमा रकम २ लाख रुपैयाँसम्मको उपचार सेवा पाउनेछन् ।
‘कडा रोग लागेर स्वास्थ्य उपचारका लागि खर्च जुटाउन नसकेर समस्या भोगिरहेका नागरिकको पीडामा राहत दिने सोचका साथ साउन १ गतेबाट ८ प्रकारका बिरामीले हाम्रो पूर्व प्रतिबद्धताअनुसार स्वास्थ्य बिमा कार्यक्रममार्फत २ लाखसम्मको उपचार प्राप्त गर्ने व्यवस्था गरेका छौं,’ मन्त्री पौडेलले भने।
यस पहलले आर्थिक अभावका कारण समयमै उपचार नपाई पीडित बन्न बाध्य हजारौँ नागरिकलाई राहत दिने अपेक्षा गरिएको छ। सरकारको पूर्वघोषित प्रतिबद्धता अनुसार अघि बढाइएको यस कार्यक्रमले स्वास्थ्य सेवामा समावेशीता र पहुँच वृद्धि गर्ने उद्देश्य राखेको छ।
स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै आम नागरिकको जीवनस्तर उकास्न सरकार निरन्तर क्रियाशील रहेको मन्त्री पौडेलको भनाई छ।